नेपाल पुनर्बीमा कम्पनीले आईपीओको बाँडफाँट आज (बुधवार) हुने भएको छ । बाँडफाँट कम्पनीको विक्री प्रबन्धक आरबीबी मर्चेण्ट एण्ड बैंकिङको कार्यालयमा बिहान ७.३० बजे हुनेछ ।
यसअघि शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको कम्पनीले मंगलवार भएको छलफल पछि बुधवार नै बाँडफाँट गर्ने निर्णय गरेको हो । उक्त आईपीओमा सर्वसाधारणको रू. ४ अर्बभन्दा बढी रकम रोक्का भएको छ ।
कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म विक्री गरेको आईपीओ समयमै बाँडफाँट गर्न नसक्दा सर्वसाधारणको मागभन्दा बढीको उक्त रकम रोक्का भएको हो । यो संकटको घडिमा आम सर्वसाधारणको रकम फुकुवा गर्नका लागि पनि कम्पनीले बाँडफाँटको व्यवस्था मिलाउन लागेको हो ।
कम्पनीले रू.१ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्ये सर्वसाधारणका लागि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता विक्री गरेको कम्पनीले यस बाहेक ७३ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ ।
उक्त आईपीओमा सर्वसाधारणले रू. ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार बराबरको आवेदन दिएका छन् । जुन मागभन्दा रू. ४ अर्ब १५ करोड ४७ लाख ३५ हजार रकम बढी हो । विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिङले दिएको जानकारी अनुसार उक्त रकम बराबरको आईपीओका लागि ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् ।
विक्री बन्द भएको एक साताभित्र अर्थात् चैत १४ गते बाँडफाँट गर्ने कम्पनीको योजना रहेपनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै बाँडफाँट प्रक्रिया रोकिएको थियो ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।