बैंकिङ खबर । कोभिड १९ को संक्रमणको उच्च जोखिम भएका जिल्लाहरुमा र्यापिड किट मार्फत परीक्षणलाई अघि बढाइने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलवारको बैठकले कैलाली, कञ्चनपुर र बागलुङमा आरडिटी पद्धतिबाट शिघ्र परिक्षण गर्ने र त्यसबाट पोजेटिभ देखिए पिसिआर मेसिनबाट परीक्षण गर्ने निर्णय गरेको छ । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगयातका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए ।
समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको समितिले आन्तरिक उडानको विषयमा भने कुनै निर्णय गरेको छैन । यसअघिकै निर्णय अनुसार आन्तरिक उडान बैशाख ३ गतेसम्मका लागि बन्द रहेको छ ।
बैठकमा स्वास्थ्य सामग्रीहरुको खरिदको सम्बन्धमा नेपाल सरकारले प्रचलित कानुन बमोजिम विशेष परिस्थितिमा अपनाइने कार्यविधि अपनाउने विषयका साथै स्वास्थ्य सेवा विभागले प्रकृयागत रुपले खरिद गर्ने कामलाई कायम राख्ने र स्वास्थ्य मन्त्रालयको समन्वयमा आवश्यक स्वास्थ्य सामग्रीको संख्या र किसिम पहिचान गरी नेपाली सेनामार्फत जिटुजीबाट प्रत्यक्ष खरिद गर्ने प्रकृया अगाडि बढाएर छिटो सामग्री ल्याउने विषयमा समेत छलफल भएको थियो । विदेशमा रहेका कुटनीतिक नियोगसँग समेत समन्वय गरेर सामान ल्याउने बैठकले निर्णय गरेको छ ।