April 5th, 2020

आजको खाँचो : असहज परिस्थितिमा वित्तीय सन्तुलन र खर्चमा मितव्ययीता

अपेक्षा ढुंगाना, कोरोना भाइरसको त्रास संसारभर फैलिरहेको छ । विश्वभरीका मानिस सन्त्रास पालेर बाँचेका छन् । यतिवेला केही मानिसमा पैसा भन्ने कुरा केही होइन भन्ने भावना पनि जागृत भएको छ । कतिपय मानिसमा प्रतिष्ठा भन्ने कुरा केही होइन भन्ने पनि जागृत भइरहेको छ । तर अन्तत हरेक व्यक्ति फेरि पनि काम गर्न पाइएन, पैसा कमाउन पाइएन, अफिस के भए होला ? काम कसरी गर्ने होला ? अब त नयाँ योजना पो बनाउनुपर्छ की ? अब त पेशा नै बदल्न पर्छकी ? अब गाउँ फर्कनु पर्छकी ? यी र यीत्यादी कुरासँग मेल खाने कुरा धेरैको मनभरी छन् । असहज परिस्थितिमा यस्ता कुराहरु सबैको मनमा निश्चय नै आउँछन् । तर यति हुँदाहुँदै पनि फेरि बाँच्ने त भोलिकै लागि हो । यस्ता असहज अबस्था नाकाबन्दीको समयमा पनि भएको थियो । भूकम्पका समयमा पनि भएको थियो । यसर्थ यो संक्रमणकालीन अबस्थामा त हामी हरेकले आफूलाई सही तरीकाबाट जोगाउनु पहिलो कदम हुन सक्छ । तथापि यस्तो वेला सिंगो देशको वित्तीय सन्तुलन र वित्तीय समावेशीता तथा पारदर्शीता अपनाउन सकियो भने राष्ट्रिय अर्थतन्त्रलाई त्यसले सकारात्मक सन्देश दिन सक्छ र देशलाई आर्थिक संकट उत्पन्न हुनबाट जोगाउन सक्छ ।

संयमता अपनाउनुपर्ने बेला

अहिलेको समय भनेको हरेक व्यक्तिले संयमता अपनाउनुपर्ने समय हो । आफूलाई आबश्यकता भन्दा धेरै पैसा निकाल्ने, आफूलाई आबश्यकता भन्दा धेरै सामानको जोहो गर्ने, आफूलाई आबश्यकता भन्दा धेरै ग्यासको भण्डारण गर्ने यो अत्तासिने मनसाय एवं वित्तीय अबस्थालाई खल्बलाउने तरीका हो । आफूलाई आबश्यकता भन्दा धेरै पैसा निकाल्दा बजारमा पैसाको अभाव हुन पुग्छ । आफूलाई आबश्यकता भन्दा धेरै सामान खरीद गर्नुले बजारमा सामानको अभाव सिर्जना हुन्छ । यस कारण मितव्ययीता अपनाउँदै समाजलाई नियमित र सरल तरीकाबाट संचालन गर्नका लागि वित्तीय सन्तुलन हुनु जरुरी छ । वित्तीय सन्तुलनका लागि हरेक व्यक्तिले यसका मापदण्ड अपनाएर सहजीकरण गर्नु नै उपयुक्त हुन आउँछ ।

आबश्यकता भन्दा बढी नसोचौं

कोरोना भाइरसका कारण सरकारले उपत्यकालाई लक डाउन गर्न सक्ने र बैंकहरु बन्द हुन सक्ने पहिलै देखि आशंका थियो । त्यसमाथि लकडाउनको अघिल्लो दिन र लकडाउनपछि पनि निरन्तर धेरै सामान जोहो गर्नेको संख्या बढेको थियो । पैसा जोहो गरेर राख्नका लागि रकम झिक्न जानेहरु बढेका थिए । अहिलेको अबस्था अलि मत्थर भएको अबस्थना छ । तर पनि कतिपयले लामो समयसम्मको लागि जोहो गर्न थालीरहेका छन् । हाल बैंकको काम निक्षेप राख्न आउनेहरुको पैसा राखिदिने र चेक बोकेर आउनेलाई पैसा दिनेमै सिमित बनेको छ । बैंकहरुले कर्जा प्रवाहको रणनीति पनि बनाउन सकिरहेका छैनन्, पछिल्ला दिनमा बैंकहरुको कर्जा लगानी ठप्प नै छन् । कोरोनाको प्रभाव यतिमै सिमित रहन सकेन, विश्व अर्थतन्त्रलाई नै यसले असर पारेको छ । अन्य कारोबारमा मन्दी छ । व्यापार व्यबसाय तथा उद्यमशीलता निश्कृय अबस्थामा छ । यो नेपालमा मात्रै होइन शक्तिशाली देशहरुमा झन् कोरोनाको सन्त्रास छ । जहाँ मान्छेहरु मर्ने र विरामीको संख्या बढ्ने कार्य भइरहेको छ । एसियाली डेभलपमेन्ट बैंक एडीबीको प्रारम्भिक तथ्यांकलाई हेर्ने हो भने कोरोनाकै कारण विश्व अर्थतन्त्रमा ४ खरब अमेरिकी डलरसम्म क्षति हुनसक्ने आकलन गरिएको छ ।

वित्तीय सन्तुलन कायम गरौं 

यस्तो अवस्थालाई मध्यनजर गर्दै अब खर्चमा मितव्ययीता अपनाउनुपर्ने आवश्यक्ता देखिएको छ । आवश्यक्ता भन्दा धैरै रकम नझिक्ने, कति बचत गर्ने, कति खर्च गर्ने, कति सम्म ऋण लिने, कहाँ बचत गर्ने, कहाँ खर्च गर्ने, कुन ठाँउमा कति खर्च गर्नु उपयुक्त हुन्छ ? कति बचतले भविष्यमा भइपरी आउने जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ भन्ने सम्पूर्ण कुराको कुशल रणनिति बनाइ अघि बढ्न सके देशको अर्थतन्त्रमा केहि हदसम्म भएपनि सकारात्मक सुधार आउने अपेक्षा गर्न सकिन्छ । यस्तो गर्न सके वित्तीय संस्थाको छवि र त्रासमा सुधार ल्याउँछ, ग्राहकको वफादारीता बढाउँछ, आवश्यक्तामा मात्र पैसा निकाली अर्थतन्त्रमा थोरै भएपनि सुधार गर्नमा सबैको संलग्नता र प्रतिबद्धता हुन्छ । वर्तमान समयमा प्रविधि क्षेत्रमा समेत विकास बढ्दै गएको छ । यसको प्रयोगकर्ता समेत बढ्दै छन् । असहज परिस्थितिलाई सबै मिलेर सामना गर्नुपर्दछ । यस्तो बेला हरेकले संयमता र वित्तीय सन्तुलन तथा मितव्ययीता अपनाउने हो भने समाजमा अभाव र समस्या धेरै हल भएर जाने छ ।