April 2nd, 2020

अन्तर्राष्ट्रिय मुद्रा कोषद्धारा विश्वव्यापी मन्दीको घोषणा

(आइएमएफ) ले कोरोना भाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी शुरु भएको बताएको छ। यो आर्थिक मन्दी यसअघिको सन् २००८ को आर्थिक मन्दीभन्दा भयावह हुने उल्लेख गरेको छ। सन् २००८ मा अमेरिकाको इन्भेस्टमेन्ट ब्यांकिङ कम्पनी लेहम्यान ब्रदर्श टाटपल्टेर उत्पन्न भएको मन्दीले विश्वभरका अर्थतन्त्रलाई प्रभावित पारेको थियो।

अहिले कोरोना भाइरसको महामारीका कारण विश्वका सबै अर्थतन्त्र एकसाथ र प्रत्यक्ष प्रभावित भएके छ। अहिलेसम्म आइएमएफसँग ८१ देशहरुले यसअघि नै आपत्कालीन सहायता माग गरेका छन्। नेपालले पनि आपत्कालीन सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय मुद्रा कोषको ७ करोड ८५ लाख एसडीआर (स्पेशल ड्रइङ राइट्स) अर्थात् १३ अर्ब ९ करोड रुपैयाँ निब्र्याजी ऋण सहायता स्वीकार गर्ने निर्णय गरिसकेको छ।

यसैबीचमा, युरोपेली युनियन सहितका विश्वका प्रमुख अर्थतन्त्रहरुको समूह (जी २०) मा आवद्ध देशहरुले भने ५० खर्ब अमेरिकी डलरको प्रोत्साहन कार्यक्रम ल्याएका छन्। उनीहरुले प्रस्तुत गरेको वित्तिय उपायहरु विश्व अर्थतन्त्रको ६ प्रतिशत बराबर हो।

जी २० को बैठकलगत्तै आइएमएफको बैठकले विश्व अर्थतन्त्रमा गम्भीर समस्या उत्पन्न भएकाले यसलाई ध्वस्त हुन नसक्ने सबै मुलुकले राहत र पुनस्र्थापनाका लागि कठोर नीति लिन सुझाइएको छ।

‘यदि यो समस्या चाँडै समाधान भयो भने विश्व अर्थतन्त्र सन् २०२१ सम्म पुनस्र्थापना हुनसक्छ,’ अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियभालाई उद्धृत गर्दै युरो न्यूजले भनेको छ, ‘वास्तवमा यो महामारी सबैतिर अन्त्यभएर कम्पनीहरुलाई टाट उल्टिन नदिन आवश्यक तरलता र कार्यशील पुँजीको आवश्यकतालाई सम्बोध भएको खण्डमा पुनस्र्थापना प्रक्रिया अलिक छिटो हुनेथियो।’

सन् २०२० को शुरुवातदेखि देखापरेको विश्वव्यापी महामारी कोरोना भाइरसकाका कारण आइएमएफले सन् २०२० र २०२१ को आर्थिक वृद्धिदर पनि संशोधन गर्ने भएको छ। आइएमएफले कम्पनीहरु टाट पल्टिने समस्या आउन नदिन सबै मुलुकलाई वित्तिय र मौद्रिक उपायहरु कार्यान्वयन गर्न आह्जान गरेको छ। आइएमएफले १८६ देशको नीतिगत कदमलाई निगरानी गर्छ। यसको सर्भिलियन्स म्याण्डेट अनुसार हरेक देशलाई राष्ट्रिय आवश्यकता अनुसार मौद्रिक र वित्तिय उपाय अंगीकार गर्न आइएमएफले सुझाव दिनेछ।

अहिले अत्यावश्यक सेवा र वस्तुबाहेक सबै कारोबार ठप्प छन्। विश्वका एकचौथाई जनसंख्या लकडाउनमा छन्। आर्थिक गतिविधिमा विश्वभर सीधा गिरावट आएको छ।

यही परिप्रेक्ष्यमा आइएमएफले यसको लगानी क्षमता दोब्बरले विस्तार गर्ने तयारी गरिरहेको छ। आइएमएफले सहयोग आवश्यक पर्ने सबै देशलाई छिटो आवेदन दिन आग्रह गरेको छ। आइएमएफसँग ५० न्यून आय भएका र ३१ मध्यम आय भएक मुलुकहरुले सहायताका लागि आग्रह गरेका छन्।

आइएमएफकी प्रबन्ध निर्देशक जर्जियभाले अहिलेको असामान्य स्वास्थ्य समस्यालाई सम्बोधन गर्दै आर्थिक गिरावटको न्यूनीकरणका लागि हरतरहका प्रयास जारी रहेको बताएकी छिन्।

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]