बैंकिङ खबर । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । पूर्वराजा शाहले हिमानी कोषबाट उक्त रकम सहयोग गर्ने बताएका छन् ।
मंगलबार साँझ एक सन्देश जारी गर्दै उनले कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको बताएका छन् । ‘देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको यो अवस्थाबाट मुक्त हुन लकडाउन नै वाध्यात्मक अनिवार्यता भएको र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी रहेको उनको बुझाई छ ।
महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार व्यक्त गर्दै पूर्वराजा शाहले ‘राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा लागीपरेका सरकारी र गैह्रसरकारी पक्षहरुप्रति पनि आभार प्रकट गरेका छन् । यसलाई अझै प्रभावकारी बनाउन समेत उनले अनुरोध गरेका छन् ।