March 31st, 2020

वैदेशिक रोजगार म्यादी जीवन बिमाको अवधि र शुल्क घट्यो

बिमा समितिले वैदेशिक रोजगार म्यादी जीवन बिमाको अवधि घटाएको छ । अवधि घटाएसँगै बिमाशुल्क घटाएर समितिले नयाँ दर कायम गरेको छ । समितिले गरेको नयाँ व्यवस्थाअनुसार कामदारको भिसा अवधिभन्दा जम्मा ६ महिना बढीको मात्रै बिमा पोलिसी जारी गरिनेछ । यसअघि समितिले १ वर्षभन्दा बढी अवधिको पोलिसी जारी गर्दै आएको थियो ।

पोलिसीको मूल्य करिब १५ सयदेखि ६ हजार रुपैयाँसम्म

बिमा समितिले वैदेशिक रोजगार म्यादी जीवन बिमा पोलिसीको मूल्य न्यूनतम १ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्म तोकेको छ । समितिले कामदारको उमेर र भिसा अवधिअनुसार पोलिसीको मूल्य कायम गरेको छ । नयाँ दरअनुसार १८ देखि ३५ वर्ष उमेरको कामदार १ वर्षको भिसा अवधिका लागि पोलिसीको मूल्य १ हजार ४ सय ८६ तोकेको छ । त्यस्तै, ३६ देखि ५० वर्षसम्मको कामदारका लागि एक वर्षको अवधिका लागि २ हजार १ सय ७५ तोकेको छ भने ५१ वर्षदेखि ६४ वर्षसम्मको उमेरका लागि ५ हजार ७६ रुपैयाँ तोकेको छ । 

समितिले भिसा अवधि अधिकतम ६ वर्ष ६ महिनासम्मका लागि पोलिसी जारी गर्नेछ । १८ देखि ३५ वर्ष उमेरको कामदारका लागि सो अवधिको बिमा पोलिसीको मूल्य ६ हजार २ सय ५, ३६ देखि ५० वर्ष उमेरका लागि ९ हजार १ सय १२ र ५१ देखि ६४ वर्ष उमेरका लागि १८ हजार २ सय २२ तोकेको छ । 

६४ वर्षभन्दा माथिको बिमाशुल्क बिमकले निर्धारण गरेबमोजिम हुनेछ । तर, यस्तो थप बिमाशुल्क ५१ देखि ६४ वर्षसम्मको उमेर समूहको बिमाशुल्कको ५० प्रतिशतभन्दा बढी हुनेछैन । घातक रोगबापतको ५ लाख रुपैयाँसम्मको जोखिम बहन हुनेछ । जसका लागि कामदारले ४ सय रुपैयाँ अतिरिक्त शुल्क भुक्तानी गर्नुपर्नेछ । 

अनलाइन पोलिसी जारी गर्न सकिने

बिमा समितिले अनलाइन वैदेशिक रोजगार म्यादी जीवन पोलिसी जारी गर्न सक्ने व्यवस्था मिलाउन बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । समितिले एक परिपत्र जारी गर्दै विद्यमान कानुनी व्यवस्थालाई मध्यनजर गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको इलेक्ट्रोनिक प्रस्ताव फारामलाई स्वीकार तथा पोलिसी जारी गर्न निर्देशन दिएको छ । त्यस्तै, बिमाशुल्क नगद, बैंक चेकका अतिरिक्त अनलाइन प्रणालीबाट समेत भुक्तानी गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्दा बिमा अवधि थप गर्नका लागि अनलाइन सेवाप्रदायकबाट नै बिमाशुल्क भुक्तानी गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ । 

कामदारको भिसा अवधिभन्दा ६ महिना बढीको मात्र बिमा पोलिसी

समितिले गरेको नयाँ व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने कामदारको भिसा अवधिभन्दा ६ महिना बढीको मात्र बिमा पोलिसी जारी हुनेछ । यस पोलिसीले कामदार विदेश जानुभन्दा तीन महिनाअघिको र भिसा नवीकरण हुनुभन्दा पहिलाको तीन महिनाको अवधिको जोखिमसमेत बहन गर्नेछ । भिसा लाग्नेबित्तिकै कामदार विदेश नजाने र भिसा नवीकरणमा समय लाग्ने हुँदा सो अवधिमा हुने जोखिमलाई सुरक्षित गर्न यस्तो व्यवस्था गरिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]