March 31st, 2020

विश्व अर्थतन्त्रमा १० खर्ब डलर क्षति गर्नेछ : युएन

संयुक्त राष्ट्रसंघको व्यापार तथा विकास हेर्ने निकाय (युएनसिटिएडी)ले अहिलेको कोरोना भाइरसको प्रकोपबाट विश्व अर्थतन्त्रमा कम्तीमा एक खर्ब डलर खति हुने आकलन सार्वजनिक गरेको छ । सोमबार युएनसिटिएडीले कोभिड–१९ कोरोनाभाइरसको महामारीले सन् २०२०मा मानवीय क्षतिबाहेक विश्व अर्थतन्त्रमा १० खर्ब डलरको क्षति पुऱ्याउने दाबी गरेको हो । 

‘यस वर्ष हामीले महामारीले विश्व अर्थतन्त्रमा २ प्रतिशत सुस्ती ल्याउने परिकल्पना गरेका छौँ, त्यसको लागत १० खर्ब डलर पर्नेछ,’ युएनसिटिएडीको विश्वव्यापीकरण तथा विकास विभागका निर्देशक रिचार्ड कोजुल–राइटले भनेका छन् । चीनमा प्रकोपका कारण आपूर्ति शृंखला अवरुद्ध बनेको र तेलको मूल्यमा आएको अस्थिरताका कारण विश्वको वित्तीय बजार धर्मराएको छ । यस्तोमा महामारीको वित्तीय गडबडीबाट कुनै पनि मुलुक अछुतो नरहने चेतावनी पनि उनले दिएका छन् ।

विश्वको अर्थतन्त्र वृद्धिदर शून्य दशमलव ५ प्रतिशत मात्रै भयो भने त्यो विश्वका लागि प्रलयको दिन हुने र त्यसले विश्वको जिडिपीमा कम्तीमा २० खर्ब डलर खती गर्ने उनीहरूको ठहर हो । 

खर्च बढाउन सुझाब 

युएनसिटिएडीले यी डरको जवाफ दिन र विश्व अथर्तन्त्रलाई धराशायी हुनबाट जोगाउन सरकारहरूलाई खर्च बढाउन सुझाब दिएको छ । यसमा चीन तथा अमेरिकाजस्ता मुलुकहरूले कसरी प्रतिक्रिया जनाउलान् भनेर सोधिएको प्रश्नमा युएनका एक वरिष्ठ अर्थशास्त्रीले चीन सरकारले खर्च बढाउने एवं कर कटौतीजस्ता उल्लेख्य विस्तारवादी उपायहरू अपनाउने बताएका छन् । ‘उसले पक्कै त्यही गर्नेछ,’ उनले भनेका थिए, ‘चुनावको वर्ष भएकाले अमेरिकी सरकारले चाहिँ कर कटौती र ब्याजदर घटाउनेबाहेकका अन्य प्रक्रियाहरू अपनाउला भन्नेमा मलाई शंका छ ।’ 

‘यसक्षेत्रको अर्थतन्त्रले सन् २०१९ देखि नै खराब प्रदर्शन गरिरहेको  र युरोपले अहिले मन्दीको सामना गरिरहेको छ,’ युरोप र युरोजोनतर्फ फर्कँदै कोजुल–राइट भन्छन्, ‘उनीहरू आउँदा महिना थप मन्दीमा जाने लगभग निश्चित छ । विशेषगरी जर्मनीको अर्थतन्त्र निकै कमजोर छ ।’

इटालीलगायत युरोपका अन्य भागहरू पनि अहिले गम्भीर दबाबको सामना गर्दै छन् । ल्याटिन अमेरिकाको अवस्था झनै राम्रो छैन, त्यस क्षेत्रका अधिकांश मुलुक उस्तै कमजोर छन् । अर्जेन्टिना  संकटको मार झेल्न संघर्षरत छ । 

त्यसैगरी, कमोडिटीप्रधान मुलुकहरूचाहिँ डलरको मजबुतीबाट मार खेप्दै छन् । त्यसैले, कच्चा पदार्थको बिक्रीबाट धानिएका अति कम विकसित मुलुकहरूको अर्थतन्त्र पनि मन्दीबाट अछुत रहनेछैन । अतिशय ऋणले थिचिएका विकासशील मुलुक, विशेषगरी कमोडिटी निर्यातकहरू, निश्चितखालको खतरा सामना गरिरहेका छन् । ‘लगानीकर्ता आफ्नो लगानीको सुरक्षा खोज्न मजबुत डलरतर्फ लागेका छन् । विश्वव्यापी आर्थिक मन्दीका कारण कमोडिटीको मूल्य बढ्ने पनि निश्चित छ । यस्तोमा कमोडिटी निर्यातकहरू विशेषगरी जोखिममा हुनेछन्,’ उनले भनेका छन् । 

महामारीको खतरा वास्तविक : टेड्रोस

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानोम घेब्रेससले सोमबारको पत्रकार सम्मेलनमा कोभिड– १९को खतरा वास्तविक संकट भएकोमा जोड दिएका छन् । घेब्रेुससले अहिलेसम्म ९३ प्रतिशत मृत्यु केवल चार मुलुकमा रहेको कुरालाई विशेष जोड दिँदै विश्वव्यापी संक्रमणको दरलाई एक लाखको माइलस्टोन दर पार गर्न दिनुहुने थिएन, यो रोगलाई नियन्त्रण गर्ने संकल्पमा पानी फेरिनुहुँदैन थियो भनेका छन् । ‘यो नै इतिहासमा नियन्त्रण गर्न सकिएको पहिलो महामारी बन्न सक्छ । हामी भाइरसको वशमा छैनौँ, यो नै मुख्य कुरा हो,’ उनले भनेका छन् ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]