March 30th, 2020

चरम संकटतर्फ इटालीको अर्थतन्त्र : दातृनिकायले ऋण समेत दिन छाडे

बैंकिङ खबर । ईयु अन्तर्गत इटालीको अर्थतन्त्रमा सबैभन्दा ठूलो प्रभाव परेको छ । इटाली युरोपको संस्थापक राष्ट्रका साथै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुकसमेत हो । इटाली अहिले नै आर्थिक रुपमा अप्ठेरो अवस्थामा पुगिसकेको छ । युरोजोनमा पर्ने देशहरुमध्ये इटालीको सार्वजनिक ऋण सबैभन्दा धेरै रहेको छ । संसारभरका देशहरुमध्ये सार्वजनिक ऋणमा इटाली तेस्रो स्थानमा छ । यसको मतलव संकटको अवस्थामा रकम बढाउन कठिन अवस्थामा इटाली रहेको छ । युरोजोनका जुनसुकै मुलुकमा समस्या आउँदा पनि ईयुको वित्तीयबजारमा अस्थिरता आउँछ । ग्रीस संकटमा हुँदा पनि ईयुमा यस्तै अस्थिरता देखिएको थियो ।

आर्थिक संकट
हाल कोभिड १९ ले इटालीको अर्थतन्त्र तहसनहस पारेको अवस्था छ । केही समयदेखि नै इटालीको अर्थतन्त्र समस्यामा रहेको थियो, तर त्यति ध्यान दिइएको थिएन । कोरोना भाइरसको महामारीले इटालीको आर्थिक अवस्थालाई प्रकाशमा ल्याएको छ । जहाँ कोरोना अगाडी नै आर्थिक वृद्धिदर कमजोर रहेको थियो । कोरोना पछि अब संकटको अवस्था आइपर्न लागेको छ ।

कर्जाको मारमा फस्दै
इटालीमा सबैभन्दा ठूलो प्रभाव औद्योगिक क्षेत्रमा परेको छ । अर्थतन्त्रको मूख्य खम्बाको रुपमा रहेको औद्योगि क्षेत्र नै बन्द गरिएपछि अर्थतन्त्र खस्किन समय लागेन । त्यसमाथि, लक डाउनका कारण माग अत्याधिक बढ्न पुग्यो । अस्पतालहरु सुचारु राख्न, होम क्वारेन्टाइनमा रहेका परिवारहरुलाई सहयोग गर्न र जीवननिर्वाहका लागि व्यापार सुचारु राख्न सरकारलाई थप रकमको आवश्यकता पर्न गयो । सरकारको आवश्यकता बढेसँगै ऋण पनि बढ्न पुगेको छ । कर्जाको मात्रा यति बढेको छ कि नीति निर्माताहरु उठाएको ऋण नै तिर्न नसक्ने अवस्थामा पुग्ने हो कि भन्ने कुराले चिन्तित छन् । कर्जा चुक्ता गर्ने क्षमतामाथि शंका उत्पन्न हुन थालेपछि कर्जा दाताले कर्जा नदिने वा व्याजदर ह्वात्तै बढाउने कुरामा आशंका उत्पन्न भएको छ ।

सहयोग पाउन मुस्किल
साँच्चै संकटको अवस्था आइपर्यो भने इटालीमा मात्रै सिमित नहुने र यसले समग्र युरोपेली राष्ट्रहरुलाई असर गर्ने कुरामा चिन्ता थपिएको छ । किनकि, इटाली युरोजोनका प्रमुख देशमध्ये एक हो । इटालीको आकाशिँदो कर्जा वृदिद्धरका कारण ईयुले इटालीका लागि पब्लिक सपोर्ट पाउन छोडेको छ । कोरोनाको संकट आउनुअघि एक तिहाई इटाली जनताले मात्रै युरोपेली संघलाई विश्वास गर्ने गरेकोमा संकट बढेसँगै ईयुप्रति वित्रिष्णा बढेको एक अध्ययनले नै देखाएको छ । सुरुमा जर्मनीले मेडिकल मास्क लगायत सुरक्षात्मक सामग्रीको निर्यातमा रोक लगायो, जतिबेला इटालीलाई त्यस्तो सामग्रीको अत्यन्तै आवश्यक थियो । १२ मार्चमा युरोपियन सेन्ट्रल बैंकका अध्यक्ष क्रिष्टिन लिगार्डले दिएको अभिव्यक्तिले इटाली झन् समस्यामा पर्यो । उनले युरोजोनका कुनै पनि देश मार्केट अट्याकमा पर्दा सहयोग गर्ने अवस्थामा बैंक नरहेको बताएका थिए । यसले ईयुविरुद्ध इटाली जनताको आक्रोश झन् बढेको छ । ईयुको निष्क्रियताकै कारण यो अवस्थामा पुगेको इटालियनहरु बताउँछन् । यस्तो संकटको समयमा नै सहयोगको हात अघि नबढाएका कारण ईयुको सिद्धान्तमाथि नै प्रश्न उठेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]