March 30th, 2020

विश्व अर्थतन्त्र मन्दीमा

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्व अर्थतन्त्र मन्दीमा गएको बताएको छ । यो आर्थिक मन्दी सन् २००८/२००९ मा देखिएको भन्दा पनि खराब हुने अनुमान गरिएको छ । यसबाट माथि आउन विकसित मुलुकले ठूलो परिणाममा आर्थिक सहायताका प्योकज ल्याउनुपर्नेमा कोषकी प्रबन्ध निर्देशक क्रिष्टलिना जोर्जेभाले जोड दिएकी छिन् । कोषले यस वर्ष र आगामी वर्षको वृद्धि प्रक्षेपणको पुनर्मूल्यांकन गरेको छ । ‘विश्व अर्थतन्त्र २००९ को जत्तिकै खराब वा त्योभन्दा पनि खराब मन्दीमा प्रवेश गरेको स्पष्ट छ,’ उनले भनिन् । 

कोरोना भाइरसको संक्रमण रोक्न धेरै देशले लकडाउनको सहारा लिएका छन् । यसले गर्दा आर्थिक गतिविधि ठप्प बनेको छ । बेरोजगारी अचानक चुलिएको छ । यद्यपि, विश्व अर्थतन्त्रमा सन् २०२१ मा सुधार आउने अपेक्षा गरिएको छ । अन्तरराष्ट्रिय समुदायले भाइरस अन्यत्र फैलिनबाट रोक्यो र तरलताको समस्या हटाउन सक्यो भने मात्रै आगामी वर्ष पुनर्बहाली सम्भव भएको बताइएको छ । 

‘विश्वको बाँकी विकसित अर्थतन्त्रझैं अमेरिका आर्थिक मन्दीमा छ,’ उनले भनिन् । विकासशील र उदीयमान अर्थतन्त्रको ठूलो हिस्सा पनि यसबाट अछुतो रहन सकेको छैन । यस वर्ष मन्दी कति गम्भीर हुनेछ भन्नेबारे प्रक्षेपण गर्ने तयारी भइरहेको छ । नयाँ प्रक्षेपण आगामी केही हप्तामा आउने बताइएको छ । भाइरसलाई नियन्त्रण नगरिएसम्म जनजीवन पहिलाकै अवस्थामा फर्किन सक्दैन । यो स्थिति जति लामो समयसम्म चल्यो, त्यति नै धेरै कम्पनीहरू टाट पल्टिनेछन् अनि कर्मचारी कटौती हुनेछ । 

यसले पुनर्बहालीलाई थप कमजोर बनाउनेछ । यस्तो स्थिति आउन नदिन अमेरिका, बेलायत लगायत कयौं देशहरूले व्यापक वित्तीय र मौद्रिक उपायहरूको घोषणा गरेका छन् । कोषमा तत्कालै वित्तीय सहायता उपलब्ध गराउन ८१ ओटा अनुरोध आएको जोर्जेभाले बताएकी छिन् । यसमध्ये ५० ओटा अनुरोध न्यून आय भएका देशबाट आएको छ । उदीयमान बजारलाई कम्तीमा पनि २५ खर्ब डलर आवश्यक रहेको अनुमान गरिएको छ ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]