March 28th, 2020

लकडाउन, श्रमजिविमा प्रभाव र स्थानिय सरकारको दायित्व

अशोक बहादुर टंडन –

विश्व माहामारीको रुपमा फैलिएको कोरोना (कोभीड १९) को कारण आम मानिसको जनजीवन कष्टकर बन्दै गएको छ । हजारौं ले ज्यान गुमाउनु परेको छ ,लाखौ मानिस यसबाट संक्रमित भएको अवस्थामा प्रत्यक्ष, अप्रत्यक्ष आम मानिस यसको प्रभाव बाट अछुतो हुन सकेका छैनन्। बिश्वका आर्थिक सम्पन्नशाली देशपनि ठुलो आर्थिक गुमाउनु पर्ने प्रक्षेपण गर्दै छन् भने विश्व लगभग सबै लगडाउनको स्थितिमा पुगेको छ। नेपालमा पनि केही संक्रमित फेला परेको अबस्था छ यस्को व्यापक फैलावट बाट रोकथामको लागि नेपाल सरकारले पनि डकडाउन गरेको अवस्था छ ।

रोकथामका लागि अपनाएको विधि उपयुक्त हुँदा हुँदै पनि आम मानिसको जीवन त कष्टकर बनेको छदै छ त्यो भन्दा प्रताडित आम गरिखाने (दैनिक ज्यालादारी गर्ने) श्रमिक बर्ग यस्को ठुलो मारमा परेको अवस्था छ। साथसाथै यसले जन–जीविकामा ठूलो उथलपुथल ल्याइदिएको छ । सरकारले आह्वान गरेको छ, ‘घरभित्रै बस्नुहोस् । घरभित्र सुरक्षा छ ।’ तर, जगेडा खानेकुरा नहुनेहरु घरभित्र पनि सुरक्षित छैनन् । यस्ता ठूला जमात छन्, जो बिहान कमाएर साँझको छाक टार्छन् । दैनिक ज्यालादारी नगरे भोकै रात कटाउनुपर्ने बाध्यता छ । हामीकहाँ श्रमजीविहरु हरेक बिहान अभाव र दुःख लिएर ब्युँझन्छन् । दिनभर पसिना बेच्छन् । साँझ त्यसैबाट उनीहरुको छाक टर्छ , श्रमजिबि बर्ग जस्को एक दिन काम नपाउँदा वा श्रम गर्ने ठाउँ नपाउँदा उनीहरुको चुल्हो बल्दैन । आफू मात्र होइन, लालाबाला र रोगी बुबाआमा समेत भोकै सुत्नुपर्ने अवस्था हुन्छ । उनीहरु कोरोनाले जति भयभित छन् । त्योभन्दा बढी त साँझ–बिहान छाक टार्ने समस्याले पिरोलिएका छन् । घरबाहिर निस्कौं, रोगले मरिने । घरभित्रै बसौं, भोकले मरिने जटिलता छ । कोरोना नियन्त्रणको उपाय खोजिरहँदा, सुरक्षात्मक अवस्थाबारे सचेत गराईरहदाँ, संभावित जोखिमको प्रतिरक्षा गर्ने तयारी गरिरहँदा छुटेको एउटा पाटो हो, गरिखानेको दुरावस्था ।
शहरमा दैनिक ज्यालादारी गरेर जीविका धान्नेहरु यतिबेला कसरी आफ्नो भोक मेटिरहेका होलान् ? कसरी बालबच्चाको भोक शान्त गरिरहेका होलान् र ? कसरी दाल–चामल, ग्याँस आदिको जोहो गरिरहेका होलान्  ? औषधि–उपचार कसरी गरिरहेका होलान्। यस्तो अवस्था गाउँ भन्दा शहर बढी देखिन्छ ,गाउँमा गरि खाने ठाउको अभाव देखेपछि अवसर को खोजिमा शहर पसेको देखिन्छ शहरमा दैनिक ज्यालादारी मा विभिन्न काम पाइन्छ जस्ले गर्दा बच्चा बच्ची परिवार सहित रहेको देखिन्छ ।
अहिले देशको संरचना तीन तहको सरकार बनेको अबस्थामा स्थानीय सरकारले आफ्नो स्थानीय ठाउँ रहेका ज्यालादारी मजदुर बर्ग पहिचान गरि राहत का प्याकेज ल्याउन ढिला गर्नु हुन्न। उनिहरुलाइ पहिचान गरि तत्काल के राहत को कार्यक्रम ल्याउन सकिन्छ स्थानिय प्रतिनिधि बसि छिटो भन्दा छिटो सम्बोधन गर्नु पर्ने आवश्यक्ता छ । यो समस्याले झन अर्को भयावह समस्या खडा नगरोस् ,स्थानिय सरकारको आवश्यक्ता यति बेला त हो नि । अहिलेको समयमा उच्च मनोबल का साथ् काम गर्ने र मद्धत गर्ने बेला हो। स्थानीय निकायले सरकार भएको महसुस दिने बेला भएको छ ,हाम्रो पनि सरकार छ सरकारले परेको बेलामा गर्छ भन्ने बेला आएको छ । एकपटक गम्भीर भएर सोचौ वा लागौ गर्ने भनेको मर्दा पर्दा त हो नि अरु बेला त सबैले आफ्नो आफ्नो गरि खाने हो।