विनोद चौधरी / अहिलेको अत्यन्त विषम परिस्थितिका बीच चौधरी फाउन्डेसनको टिम सातै प्रदेशका ३३ केन्द्रमा व्यक्तिगत सुरक्षा उपकरण वितरण गर्ने योजना लिएर अगाडि बढेको छ । सम्भवत: आज बेलुकीसम्ममा यी सबै केन्द्रमा पूरा भइसक्नेछ ।
यी केन्द्रबाहेक अझै पनि हामीलाई विभिन्न क्षेत्रबाट सुरक्षा उपकरणको माग आइरहेको छ । परीक्षण र उपचारमा संलग्न स्वास्थ्यकर्मीको सुरक्षामा हामी अत्यन्त संवेदनशील छौं । अहिलेसम्म जति केन्द्रमा सामग्री पुर्याइएको छ, त्यहाँका स्वास्थ्यकर्मीमा आत्मसुरक्षाको अनुभूति पाएका छौं । तत्कालको आवश्यकता पूरा गरिए पनि यो आफैंमा कदापी पूर्ण छैन । सबै स्वास्थ्य केन्द्रलाई सुरक्षा उपकरणबाट थप सुसज्जित तुल्याउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नु आजको प्राथमिक आवश्यकता हो ।
पहिलो चरणको काम सफलतापूर्वक सकेपछि अबको हाम्रो ध्यान परीक्षण किट, N95 मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित छ । यी सामान आपूर्तिका लागि चीनका विभिन्न शहरमा तयार पारेर राखेका छौं र नेपाल भित्र्याउन उपयुक्त माध्यम खोज्न संघर्षरत छौं । ती सामान विदेशी वा नेपाली विमानमा ढुवानी गर्न सम्भव छ । यसका लागि हामीले सरकारलगायत सबै साझेदार मित्रहरूसँग निरन्तर सम्पर्कमा छौं । कसैले यो कार्यमा सहयोग पुर्याउन सक्नुहुन्छ भने हामी आभारी हुनेछौं ।
विषम परिस्थितिमा दिनरात खटेर ज्यानको जोखिम मोल्दै देशैभर सुरक्षा उपकरण बाँड्न हिँड्नुभएका हाम्रा सहकर्मीहरूप्रति विशेष आभार व्यक्त गर्दछु ! #FightAgainstCOVID19 प्रस्तुत सामगी्र उहाँको फेसबुक पेजबाट साभार गरिएको हो ।