बैंकिङ खबर । कोरोना संक्रमणलाई थप फैलिन नदिन, संक्रमण भएकाहरुको उपचार गर्न र कोरोनाले पुर्याएको क्षतिको पूर्ति गर्नका लागि सबैजसो देशहरुले लक डाउनको घोषणा गरेका छन् । आआफ्नो देश र देशवासीको सहजताका लागि राहतकोषका साथै विभिन्न राहत कार्यक्रम एवम् प्याकेजको घोषणा समेत गरिएको छ ।
नेपाल सरकारले ५० करोड कोरोना रोकथाम कोषको स्थापना गरिसकेको छ । कोषमा बैंक तथा वित्तीय संस्था लगायतका संघसंस्था एवम् व्यक्तिगत तवरमा समेत सहयोगहरु प्रदान भइरहेका छन् । लक डाउनको अवस्थामा घरमा बसिरहेका जनताहरुको सुविधाका लागि डिजिटल कारोबारमा छुट, मोबाइल रिचार्ज गर्दा बोनस, भ्वाइस प्याक एवम् नेट प्याकका सहुलियत योजनाहरु लगायतको व्यवस्था गरिएको छ । बजार नखुलेको अवस्थामा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री अभाव नहोस् भनेर सरकारले खाद्यान्न ढुवानीको व्यवस्था गरेको छ भने ग्यास आपूर्ति लगायतमा असुविधा हुन नदिने उपायहरु पनि अपनाइरहेको छ । यसरी, सरकारले हरेक तवरबाट जनतालाई सुरक्षित राख्न विभिन्न कदम चालेको छ ।
नेपाल मात्रै नभएर हरेक देशका सरकारले यस्ता प्याकेजहरु ल्याइरहेका छन् । भारतको कोरोना रिलिफ फण्डमा व्यक्तिगत एवम् संस्थागत तवरले थुप्रै सहयोग प्रदान भइरहेका छन् । विभिन्न सेलिब्रेटीहरुले पनि सहयोग गरिरहेका छन् । सरकारले एक लाख ७० हजार करोडको रिलिफ फण्ड घोषणा गरेको थियो ।
अमेरिकाले २ ट्रिलियन अमेरिकी डलरको रिलिफ फण्ड घोषणा गरेको छ, जुन जीडीपीको अनुपातमा १० प्रतिशत हुन आउँछ । केन्द्रीय बैंकले कम्पनीहरुद्धारा जारी बण्ड र कमर्सियल पेपर खरिदको व्याजदर घटाएर शून्य जस्तै बनाएको छ । यसले अर्थतन्त्र चलायमान बनाइराख्ने अपेक्षा गरिएको छ । रिलिफ फण्डमा स्पोर्टस, म्युजिक, फिल्म लगायतका इन्डस्ट्रीका स्टारहरुको सहयोग प्राप्त भइरहेको छ । त्यस्तै, फिडिङ अमेरिका, मिल्स अन व्हील्स, द सिटल फाउन्डेसन लगायत विभिन्न सामाजिक संस्थाहरु समाजसेवामा लागीपरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट धेरै प्रभावित क्यालिफोर्निया, न्युयोर्क र वासिङटनमा नेशनल गार्ड ट्रुप्स परिचालन गर्नका लागि वित्तीय सहयोग प्रदान गर्न केन्द्रीय बैंकलाई स्वीकृति दिएका छन् ।
यता युरोपियन सेन्ट्रल बैंकले सरकारी बण्डका साथै कर्पोरेट बण्डमा पनि लचकता अपनाएको छ । युरोपभरि कोरोना संक्रमणसँग जुझ्नका लागि आवश्यक वस्तुहरुको उपलब्धताका लागि आवश्यक हरेक उपाय अपनाइएको छ । यसका लागि इयु कमिसन आफ्ना सबै सदस्य राष्ट्रसँग हरपल सम्पर्कमा रहेको छ । यसका साथै कमिसनमा औद्योगिक अवस्थाको बारेमा समेत छलफल सुरु भइसकेको छ । युरोपमा इटालीको अवस्था सबैभन्दा नाजुक छ । देशबाट आवातजावतका सबै साधान एवम् नाका बन्द भएकाले त्यहाँ अत्यावश्यक उपकरण पुर्याउन नसकेकाले यस्तो अवस्था आएको भन्दै इयु कमिसनले ईयुमा आवद्ध सबै देशहरु मिलेर काम गर्नुपर्नेमा जोड दिएको छ ।