March 25th, 2020

कोरोना रोकथामको सन्दर्भमा राष्ट्रपतिद्धारा जारी सन्देश (सन्देश सहित)

बैंकिङ खबर । राष्ट्रपति विद्यादेवी भण्डारीले नोवल कोरोनाभाइरसले देश ‘लकडाउन’ भएको बेला देश बनाउने विषयमा चिन्तन मनन गर्न आग्रह गर्नुभएको छ ।
कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिएको र यसबाट हालसम्म विश्वका प्रायः सबैजसो मुलुकहरू प्रभावित हुनुका साथै चार लाखभन्दा बढी जनसङ्ख्यामा संक्रमण भई १८ हजारभन्दा बढीको ज्यान गइसकेको जनाउँदै दुःखको यस घडीमा संयमित बन्दै घातक भाइरसका विरुद्धको अभियानलाई सुदृढ तुल्याएर अमूल्य मानव जीवनको रक्षार्थ सम्बद्ध सबै पक्षलाई आ-आफ्नो ठाउँबाट क्रियाशील हुन उहाँले आव्हान गर्नुभएको छ ।

लकडाउनले आम जनताको दैनिक जीवनमा केही कठिनाई हुने भए तापनि सरकारको यस सुझबुझपूर्ण र सामयिक निर्णयलाई सबैले गम्भीरतापूर्वक आत्मसात गर्नुर्ने उहाँको भनाई छ । यस परिवेशमा वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर राख्दै हरेक नागरिकले सरकारका आधिकारिक निकायहरूले जारी गरेका निर्देशन एवम् आचारसंहिताहरू पालना गर्दै घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।
यसैगरी नेपाल सरकारद्धारा कोरोनाको सङ्क्रमण रोक्नका लागि लागू गरिएको ‘लकडाउन’को अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमूलक बनाउन सकिने कुरामा पनि उहाँले सबैको ध्यानाकर्षण गराउनुभएको छ । यस समयलाई सबैले मुलुकको अर्थतन्त्रलार्ई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्तन मनन गर्ने काममा समेत सदुपयोग गर्न सकिने उहाको विश्वास रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]