July 5th, 2016

आईपीओ निष्काशनको तयारीमा रहेका ‘३ लघुवित्त बैंकहरु’ 

ipoलघुवित्त बैंकमा लगानी गर्ने सोच्दै हुनुहुन्छ ? ३ वटा लघुवित्तले छिटै नै साधारण शेयर निष्काशन गर्दैछन् । तीन वटै कम्पनीको गरेर कुल ८ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन हुन लागेको हो । ३ वटै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । ढिलोमा साउन मसान्तसम्ममा यी कम्पनीहरुको आईपीओ निष्काशन भइसक्नेछ । 

कुनकुन लघुवित्तको आईपीओ निष्काशन हुँदैछ ?
गत जेठ २४ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशनको अनुमति पाएको नेशनल माइक्रोफाइनान्स शेयर निष्काशनको प्रक्रियामा छ । कम्पनीले ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । धादिंगको सदरमुकाम धादिंगबेंशीमा मुख्य कार्यालय रहेको नेशनल माइक्रोफाइनान्सको अहिले चुक्ता पूँजी ७ करोड रुपैंया रहेको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड रुपैंया पुग्नेछ । कम्पनीले शेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । 

गत साता मात्रै सुर्योदय लघुवित्तले पनि धितोपत्र बोर्डबाट साधारण शेयर निष्काशन गर्ने अनुमति पायो । गत असार १४ गते बोर्डले कम्पनीलाई १ लाख २० हजार कित्ता साधारण शेयर निष्काशनको अनुमति दिएको हो । स्याङ्जा जिल्लाको पुतलीबजारमा केन्द्रिय कार्यालय रहेको सुर्योदय माइक्रोफाइनान्सको चुक्ता पुँजी २ करोड ८० लाख रुपैंया रहेको छ । आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्तापुँनी चुक्ता पूँजी ४ करोड रुपैंया पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

त्यस्तै, आरडीसी लघुवित्तले पनि साधारण शेयर निष्काशन गर्नका लागि गत असार १७ गते धितोपत्र बोर्डबाट अनुकति पाएको छ । कम्पनीले ४ लाख कित्ता साधारण शेयर निष्काशनको अनुमति पाएको हो । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको आरडीसी लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा विक्रि प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ ।

डिम्याट खाता नहुनेले आईपीओ किन्न नपाउने
डिम्याट खाता नभएकाले आगामी साउन १ गतेदेखि सेयर भर्न पाउने छैनन् । नेपाल धितोपत्र बोर्डले साउन १ देखि सेयर भर्न डिम्याट खाता अनिवार्य गरिसकेको छ । बोर्डले साउनदेखि डिम्याट खाता नभएकालाई सेयर भर्न नदिन मर्चेन्ट बैंकरहरूलाई निर्देशन दिइसकेको छ । खाता भएनभएको परीक्षण गरेरमात्र सेयर आवेदन बुझ्नसमेत बोर्डले निर्देशन जारी गरिसकेको छ । आईपीओ जारी गर्न बोर्डको अनुमति पाएका यी तीन लघुवित्तहरुको शेयर निष्काशन साउन लागेपछि मात्रै हुने देखिन्छ । हाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिना भित्रमा शेयर निष्काशन गरिसक्नु पर्ने व्यवस्था रहेको छ । जसअनुसार नेशनल माइक्रोफाइनान्सको साधारण शेयर निष्काशन साउन तेस्रो सातासम्ममा भैसक्नु पर्ने छ भने सुर्योदय लघुवित्त र आरएसडिसी लघुवित्तले भदौ दोस्रो सातासम्ममा शेयर निष्काशन गरिसक्नु पर्नेछ । साउनको पहिलो दिनदेखि नै पूर्ण रुपमा डिम्याट प्रणलीको प्रयोग गरिने भएकाले यी लघुवित्तको शेयर किन्न चाहनेले जतिसक्दो चाँडो डिम्याट खाता खोल्नुपर्ने हुन्छ ।