March 25th, 2020

बिमा प्रिमियम तिर्ने समयमा छुट


अवस्था सामान्य भएको १५ दिनभित्र तिर्न सकिने 

कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि बिमा समितिले जीवन बिमा प्रिमियम तिर्न पनि सहुलियत दिएको छ । समितिले बिमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै जीवन बिमा कम्पनीका बिमितले अहिलेको अवस्था सामान्य भएको १५ दिनभित्र बिमा प्रिमियम तिर्न सक्ने व्यवस्था गरेको हो । यसरी ढिला प्रिमियम बुझाउदा बिमालेख व्यतित नहुने र व्याज तथा जरिवाना समेत नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
यसैगरी निर्जिवन बिमा कम्पनीहरूले बिमालेखको अवधि समाप्त हुनुअघि नै पर्याप्त सूचना उपलब्ध गराउन तथा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बिमाशुल्क संकलन गर्न सकिने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले लक डाउन गरेपछि सुरक्षाको उपाय अपनाउदै बिमितहरूलाई सेवा दिन निर्देशन दिइएको समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए । “स्वास्थ्य जोखिम नहुनेगरी सेवा सञ्चालन गर्न निर्देशन दिएका छौं,” उनले भने, “सकेसम्म अनलाइनमार्फत सेवा प्रदान गर्न भनेका छौं ।”

लकडाउनपछि कम्पनीहरूको कार्यालय बन्द भएपनि सेवा भने जारी रहेको छ । कम्पनीहरूले सूचना जारी गर्दै कम्पनीको सेवा लिनका लागि निश्चित व्यक्ति तोकेको जानकारी दिएका छन् । अधिकांश निर्जीवन बिमा कम्पनीहरूले सूचनामा ४-५ जना सम्पर्क अधिकृत तोकेका छन् । उनीहरूलाई घरैबाट अनलाईमार्फत ग्राहकलाई अत्यावश्यक सेवा प्रदान गर्न निर्देशन दिइएको कम्पनीहरूले जनाएका छन् ।
निर्जीवन बिमा कम्पनीहरूले सम्पर्क अधिकृत तोकेर सेवा जारी राखेपनि जीवन बिमा कम्पनीहरूले भने सेवा बन्द गरेका छन् । जीवन बिमा कम्पनीहरूले अवस्था सामान्य नभएसम्म कार्यालय बन्द रहने जनाएका छन् । समितिले जीवन बिमा कम्पनीको बिमा शुल्क उठाउनका लागि अवस्था सामान्य भएपछि १५ दिनको समयसीमा दिन भनेको छ । यसैगरी यस अवधिमा कुनै शुल्क नलिनसमेत कम्पनीहरूलाई निर्देशन दिएको छ ।
हाल बजारमा एक पुनर्बिमा कम्पनीसहित ४० वटा कम्पनीहरूले बिमा सेवा प्रदान गरिरहेका छन् । त्यसमध्ये जीवन बिमा सेवा दिने कम्पनीहरू २० र निर्जीवन बिमा सेवा संचालन गर्ने कम्पनीको संख्या १९ रहेको छ । सरकारको तथ्यांकअनुसार २५ प्रतिशत नेपालीहरू बिमाको पहुँचमा पुगेका छन् । पछिल्लो समय भूकम्पलायतका जोखिका कारण सर्वसाधारणको बिमाप्रति चासो र आकर्षण बढिरहेका कम्पनीका सञ्चालकहरूको दावी छ ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।