कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेसँगै बचत तथा ऋण सहकारी संस्थाहरूमा तरलताको समस्या हुन थालेको छ । दैनिक बचत संकलन ठप्प भएसँगै पैसा अभाव भएको भन्दै संस्थाहरूले बचत फिर्ता गर्ने सीमा तोक्न थालेका छन् । यसैगरी कारोबारको समय पनि घटाउन थालेका छन् ।
कोरोना त्रासका कारण आर्थिक गतिविधि कम भएसँगै सहकारीको बचत संकलन घटिरहेको थियो । आइतबारबाट सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गरेपछि सहकारीमा बचत संकलन र ऋण असुली बन्द भएको छ । सदस्यको रकम फिर्ता गर्न अभाव हुन थालेको हो । सहकारीहरूले बजार प्रतिधिमार्फत घरघरमा पुगेर बचत संकलन गर्दै आएका थिए । संक्रमणको त्रासले घरदैलो संकलन सेवा समेत बन्द गरेका छन् ।
बचत अभाव भएपछि कतिपय सहकारी संस्थाहरूले कार्यालय नै बन्द गरिसकेका छन् । यसैगरी केही सहकारीहरूले भने सदस्यहरूलाई आवश्यकताको आधारमा निश्चित रकम मात्र फिर्ता गरिरहेका छन् । तरलताको अभाव भइ सहकारीमा समस्या देखिन थालेपनि छाता संगठनमार्फत नै बचत फिर्ता गर्ने सीमासमेत तोकिएको छ ।
आइतबार जिल्ला सहकारी संघसहित लतिपुरका जिल्लास्तरीय संघहरूको बैठकले प्रतिदिन÷प्रतिसदस्य १० हजार रूपैयाँसम्म मात्र भुक्तानी गर्ने निर्णय गरेको छन् । जिल्ला संघ, बचत तथा ऋण सहकारी संघ, बहुउद्देश्यीय संघ र कृषि संघको संयुक्त बैठकले दैनिक २ घण्टामात्र कार्यालय सञ्चालन गर्ने समेत निर्णय गरेका छन् ।
बचत तथा ऋण सहकारीहरूको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सकेसम्म कम रकम निकाल्न र सहकारी बाहिरको तरलता प्रयोग गर्न अपिल गरेको छ । “संघका कार्यालय नियमित रूपमा सञ्चालन हुने भएकाले अन्य क्षेत्रमा भएको तरलता प्रयोग गरी सहकारी संजालमा वित्तीय सुरक्षा कायम राख्न अपिल गर्दछौं,” विज्ञप्तीमा भनिएको छ । यसैगरी, राष्ट्रिय सहकारी बैंकले पनि सदस्य संस्थाहरूलाई अनावश्यक रकम संचित नगर्न अपिल गरेको छ । बैंकले सदस्य सहकारीलाई आवश्यक पर्ने रकम व्यवस्थापन गर्न पहल गर्ने समेत जानकारी दिएको छ ।
हाल देशभर ३५ हजार सहकारी संस्था दर्ता भएकोमा अधिकांशले वित्तीय कारोबार गर्दै आएका छन् । तर, यी संस्थाहरूले वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने मापदण्ड पालना नगर्दा समस्या हुने गरेको हो । “तोकेको मापदण्डभन्दा कम तरलता राखेका सहकारीहरूमा समस्या पर्नसक्छ,” सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागार्इंले भने, “सदस्यहरूलाई सम्झाइबुझाइ आवश्यकताको आधारमा सेवा प्रवाह गर्नुपर्छ ।”
केही सहकारीका सञ्चालकहरूले अहिलेको अवस्थामा सेवा सञ्चालन गर्न अप्ठेरो हुने भएपछि बन्द गर्न छाता निकाय राष्ट्रिय सहकारी महासंघलाई गर्न दबाब दिएका थिए । तर, महासंघले सहकारीको सेवा अत्यावश्यकभित्र पर्ने भन्दै बन्द गर्ने निर्णय गर्न सकेन । महासंघले तरलताको अवस्था हेरेर आंशिक कार्यालय खोलेर भएपनि सदस्यलाई सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
“सहकारी संस्था सदस्यहरूको लागि सदस्यहरूकै व्यवस्थापनबाट सञ्चालित भएकाले समुदायप्रति समेत जिम्मेवार भइ सञ्चालन हुनुपर्छ । यस विषम परिस्थितीमा सदस्यहरूलाई अत्यावश्यक सेवा प्रवाह गर्न समेत तत्पर रहनु पर्दछ,” महासंघको विज्ञप्तिमा भनिएको छ । यसैगरी, महासंघले स्वास्थ्य सहकारी संस्थाहरूलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न, उपभोक्ता सहकारीहरूलाई अत्यावश्यक वस्तुको आपूर्ति गर्न र वित्तीय सेवा प्रवाह गर्र्ने संघ/संस्थालाई आंशिक समयमात्र भएपनि कार्यालय खोली तरलताको व्यवस्थापन हुने गरी सदस्यहरूको आवश्यक्ताको आधारमा वित्तीय सेवा प्रवाह गर्न आग्रह गरेको छ ।