March 23rd, 2020

ओरालोतिर विश्‍व सेयर बजार

विश्वभरका केन्द्रीय बैंकले दुई साताअघि नै कोभिड–१९ को प्रभाव कम गर्न सहकार्य गर्ने घोषणा गरेका छन्

कोभिड–१९ फैलिएसँगै विश्व सेयर बजार निरन्तर ओरालो लागेको छ । यो अवधिमा अमेरिका, युरोप र एसिया क्षेत्रका सेयर बजारमा उच्च गिरावट छ । यसअघि अमेरिका र चीनबीचको व्यापार युद्ध (ट्रेड वार) ले प्रभावित विश्व सेयर बजार यस पटक कोरोनाका कारण समस्यामा परेको हो ।

कोभिड–१९ का कारण प्रमुख ठूला अर्थतन्त्रका म्यानुफ्याक्चरिङ सूचक घटेका छन् भने औद्योगिक उत्पादनमा पनि कमी आएको छ । फलस्वरूप विश्व सेयर बजार ओरालोतिर लागेको हो ।

विश्वबजारमा कच्चा तेलको मूल्य सन् २००८ यताकै सबैभन्दा तल झरेको छ । यसले पनि सेयर बजारमा दबाब परेको बताइएको छ । विश्वभरका केन्द्रीय बैंकले दुई साताअघि नै कोभिड–१९ को प्रभाव कम गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । उच्च अंकले घटिरहेको सेयर बजार नियन्त्रण गर्न घोषणाले सहयोग पुग्ने अनुमान गरिए पनि त्यसो भएन । सेयर बजारमा गिरावट आउने क्रम रोकिएन । केन्द्रीय बैंकहरूको प्रयास कोभिड–१९ को संक्रमण कम गर्न पर्याप्त नहुने अनुमानका आधारमा लगानीकर्ता विश्वस्त हुन नसकेकाले सेयर बजार बढ्न नसकेको विश्लेषण गरिएको छ ।

साप्ताहिक रूपमा अन्तर्राष्ट्रिय प्रमुख सेयर बजार घटेर बन्द भएका छन् । तर गत शुक्रबार बजार बन्द हुँदा युरोप र एसिया प्रशान्त क्षेत्रका केही बजार सकारात्मक अवस्थामा बन्द भएका छन् । यद्यपि मासिक र वार्षिक रूपमा तुलना गर्दा ती सेयर उच्च अंकले घटेका छन् ।

अमेरिका

अमेरिकी सेयर बजार वालस्ट्रिटका प्रमुख सूचक शुक्रबार घटेर बन्द भए । अघिल्ला साताको तुलनामा गिरावट दर भने केही घटेको देखिन्छ । शुक्रबार वित्तीय एवं सेवा क्षेत्रका कम्पनीको बाहुल्य भएको ‘एस एन्ड पी ५००’ सूचक १ सय ४.४७ अंक (४.३४ प्रतिशत) घटेर २ हजार ३ सय ४.९२ अंकमा बन्द भयो । सूचना प्रविधि एवं बायोटेक्नोलोजी कम्पनी सूचीकृत रहेको ‘नास्डाक’ कम्पोजिट २ सय ७१.६ अंक (३.७९ प्रतिशत) घटेर ६ हजार ८ सय ७९.५२ अंकमा आयो । यी दुवै बजार मासिक रूपमा पनि उच्च अंकले घटेका छन् ।

बजार बन्द हुँदा शुक्रबार ‘डाउजोन्स’ सबैभन्दा धेरै ९ सय १३.२१ अंक घट्यो । अघिल्लो दिनको तुलनामा यो ४.५५ प्रतिशतले कम हो । यो गिरावटले शुक्रबार ‘डाउजोन्स’ १९ हजार १ सय ७३.९८ अंकमा ओर्लेर बन्द भएको छ । वार्षिक रूपमा भने वालस्ट्रिट सूचकहरूले उल्लेख्य नोक्सानी बेहोरेका छन् । अमेरिकी अर्थतन्त्रमा देखिएको असरले सो क्षेत्रका सेयर बजारहरू उल्लेख्य रूपमा ओर्लेका हुन् ।

युरोप

कोभिड–१९ को असरले युरोजोनको सेयर बजार पनि प्रभावित बनेको छ । यद्यपि शुक्रबार बजार बन्द हुँदा भने यो क्षेत्रका धेरै सूचक बढेर बन्द भए । यो दिन पेरिसस्थित ‘क्याक ४०’ सूचक ५.०१ प्रतिशत र फ्र्याङ्कफर्टस्थित ‘ड्याक्स’ ३.७० प्रतिशतले बढे । तर मासिक रूपमा भने ‘क्याक ४०’ ३२.८५ र ‘ड्याक्स’ ३४.२५ प्रतिशतले घटे । वार्षिक रूपमा पनि यी सूचकले उच्च अंकको गिरावट बेहोरेको देखिन्छ । त्यस्तै लन्डनस्थित ‘फुट्सी १००’ ०.७६ प्रतिशत मात्र बढ्यो । मासिक र वार्षिक रूपमा भने यो सूचक पनि क्रमशः ३० र २८ प्रतिशतले घटेको छ । लामो समयदेखि घटिरहेको युरोजोनका सेयर बजार साताको अन्त्यमा भने सामान्य सुधारको अवस्थामा बन्द भए । यद्यपि कोभिड–१९ को असर सो क्षेत्रमा पनि रहेकाले आउँदा दिनमा यी बजारमा सुधारले निरन्तरता पाउने सम्भावना कम छ ।

एसिया

मासिक र वार्षिक रूपमा उच्च गिरावटको मार खेपिरहेका एसियाली सेयर बजारहरूले पनि गत साता केही आशा देखाएका छन् । शुक्रबार बजार बन्द रहँदा ती क्षेत्रका प्रमुख बजार सुधारको अवस्थामा रहेपछि लगानीकर्ता केही आशावादी बनेका हुन् । मासिक र वार्षिक रूपमा भने एसिया क्षेत्रका सेयर बजारहरूमा पनि उच्च गिरावट आएको छ । शुक्रबार जापानको ‘निक्केई’ १ सय ७३.७२ अंक (१.०४ प्रतिशत) ले घटेर बन्द भएको छ । सो अवधिमा हङकङको ‘हेङसेङ’ ५.०५ प्रतिशत र चीनको ‘सांघाई कम्पोजिट’ १.७९ प्रतिशतले बढे । गएको एक महिनामा ‘हेङसेङ’ १६.४९ प्रतिशत र ‘सांघाई कम्पोजिट’ ११.९६ प्रतिशतले घटेका छन् । यस्तै, सो अवधिमा भारतको मुम्बई स्टक एक्सचेञ्जमा पनि सुधार आएको छ । साप्ताहिक बजार बन्द हुँदा जापानबाहेक एसिया क्षेत्रका प्रमुख बजारहरूमा सामान्य सुधार देखिएको छ । न्यून विन्दुमा आएको सेयर बजारमा लगानीकर्ताले लगानी बढाएपछि सूचकमा सामान्य सुधार देखिएको छ ।

झन्डै ८ प्रतिशत घट्यो नेप्से

गत साता नेप्से परिसूचक झन्डै ८ प्रतिशत घट्यो । कोभिड–१९ को प्रभावले विश्व सेयर बजार निरन्तर घटिरहँदा नेपालको सेयर बजारले पनि सोही प्रवृत्ति पछ्याइरहेको देखिन्छ । तर विश्व बजारमा जस्तो नेपाली सेयर बजारमा कोभिड–१९ प्रभाव आइनसकेका रूपमा विश्लेषण गरिएको छ । कारोनाको जोखिमबाट बच्न सरकारले अत्यावश्यकबाहेक क्षेत्र बन्द गर्ने घोषणा गरेपछि सेयर बजार पनि पूर्ण रूपमा प्रभावित हुन देखिएको छ ।

अघिल्लो साताको तुलनामा गत साता नेप्से ७.८३ प्रतिशत (अर्थात् १०७.८८ अंक) घटेर १ हजार २ सय ६९.३० विन्दुमा बन्द भएको छ । गत साता ५ दिनमा ८ अर्ब २६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ६४ अंक घटेर १ हजार ३ सय १३ मा बन्द भएको थियो । त्यसपछि दोस्रो दिन सामान्य सुधार देखिएको बजार परिसूचकका आधारमा अघिल्लो साताभन्दा घटेर बन्द भएको थियो ।

बजारमा कोभिड–१९ प्रभाव पर्न नदिन नेपाल धितोपत्र बोर्डले विभिन्न पाँचबुँदे निर्देशन दिएको छ । यसमध्ये ब्रोकर कार्यालयमा स्क्रिन एक्जिबिसन रुम बन्द गर्न, कार्यालयमा कर्मचारीबाहेक एक पटकमा पाँच जनाभन्दा बढीको संख्यामा ग्राहकको भीड नहुने व्यवस्था गर्न, कार्यालयमा कर्मचारी तथा लगानीकर्ता प्रवेश गर्दा स्यानिटाइजर प्रयोगलगायत निर्देशन दिएको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।