लामो समयदेखी ऋणमा डुबिरहेको नेपाल आयल निगम यसै सातादेखि ऋणमुक्त हुँदैछ । निगमले ऋण तिरेपछि पेट्रोलियम पदार्थको मूल्य सस्तिने अपेक्षा उपभोक्ताले गरेका छन् । निगमले ऋण तिर्नको लागि उपभोक्तासँग लिँदै आएको रकम अब घटाउनुपर्ने उपभोक्त अधिकारकर्मीहरु बताउँछन् । निगमले नेपालमा भन्दा भारतीय सीमा क्षेत्रमा पेट्रोलियम पदार्थ महँगो भएको भन्दै पाँच महिनादेखि मूल्य समायोजन गरेको छैन । अन्तराष्ट्रिय बजारमा मूल्य थपघटसँगै इन्डियन आयल कर्पोरेसन (आइओसी)ले हरेक १५ दिनमा मूल्य घटबढको सूची पठाए पनि निगमले गत माघदेखि (हवाई इन्धनबाहेक) मूल्य यथावत राखेको छ । अब निगमले सबै ऋण तिरिसकेपछि भने आईओसीले पठाएको सूचीहनुरुप मूल्य समायोजन गरिनुपर्ने चौतर्फी माग आउन थालेका छन् ।
कसरी उठ्यो ऋण तिर्ने रकम ?
निगमले यसअघि सरकारसहित विभिन्न बैंक तथा वित्तीय संस्थासँग लिएको साढे ३४ अर्ब ऋण चुक्ता गरिसकेको छ । निगमसँग रहेको ३६ अर्ब ऋणमध्ये अब १ अर्ब रुपैयाँ मात्र तिर्न बाँकी रहेकोमा सो पनि यसै साता तिर्ने भएको हो । सरकारले बजेट भाषणमा बूढीगण्डकी जलविद्युत परियोजनाको लागि पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ कर लगाउने निर्णयसँगै नाफा घटेको थियो । निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३९ पैसा, मट्टितेलमा १९ रुपैयाँ ४० पैसा, ग्यास प्रतिसिलिन्डर ८ रुपैयाँ ४५ पैसा, हवाई इन्धनमा प्रतिलिटर १६ रुपैयाँ ९९ पैसा नाफा कमाउँदै आएको छ । स्वचालित मूल्य प्रणालीमा जाने घोषणा गरेको निगमले पाँच महिनादेखि पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरी धमाधम ऋण तिर्दै आएको हो । निगमले सार्वजनिक गरेको प्रक्षेपणअनुसार मासिक ८३ करोड १४ लाख रुपैयाँ नाफामा छ । निगमको प्रक्षेपणमा १५ दिनमा ४१ करोड ५७ लाख रुपैयाँ नाफा हुनेछ ।
चालु आर्थिक वर्षमा भारतबाट निगमले ४७ अर्ब ३७ करोड २० लाखको पेट्रोलियम पदार्थको आयात गरेको थियो । गत वर्षभन्दा चालु आर्थिक वर्षको पहिलो १० महिनामा ४३ अर्ब २१ करोड २० लाख रुपैयाँको कम तेल आयात भएको हो । गत वर्ष ९० अर्ब रुपैयाँ तेल आयात भएको भए पनि भारतीय नाकाबन्दीको कारण यो वर्ष तेल आयातमा कमी आएको हो ।