July 4th, 2016

सुन बजारमा ब्रेक्जिटको प्रभाव : लगातार बढ्दै मूल्य

goldबेलायत युरोपेली संघ (ईयू) बाट बाहिरिने निर्णयले विश्व शेयर बजार ओरालो लागेपनि सुनको मूल्य भने उकालो लागेको छ । सुनको मूल्य लगातार पाँचौं साता पनि उकालो लाग्ने क्रममा देखिएको छ । शुक्रबार सुनको मूल्य प्रतिऔंस १ हजार ३३२.४७ डलरमा कारोबार भएको थियो । सुनमा लगानी गर्नेका लागि यो वर्ष नै राम्रो रह्यो । अहिलेसम्मको अवधिमा यो पहेंलो धातुको मूल्यमा २५ प्रतिशतभन्दा बढीको वृद्धि भइसकेको छ । चाँदी पनि प्रतिऔंस १९ डलरमाथि कारोबार भएको छ । वर्षको सुरुदेखि हालसम्मको अवधिमा यो धातुको मूल्यमा ३५ प्रतिशत वृद्धि भइसकेको छ ।

किन बढ्यो ?
जनमतसंग्रहको नतिजासँगै लगानीकर्ता सुरक्षित सम्पत्तितर्फ आकर्षित भएकाले पनि सुनको मूल्य वृद्धि भएको हो । ब्रेक्जिटपछि सुरक्षित सम्पत्तिको खोजीमा सुनको मूल्य बढेको सोसाइट जेनेरलले जनाएको छ । बैंकले दुवै धातुको अल्पकालीन मूल्य प्रक्षेपण बढाएको छ । चालू वर्षको चौथो त्रैमासिक अवधिमा सुनको मूल्य प्रतिऔंस १ हजार ३५० डलर पुग्ने बैंकले जनाएको छ । पाउन्डको अवमूल्यनले पनि सुनमा प्रभाव परेको छ । बेलायती पाउन्डको मूल्य १२ प्रतिशतले ओरालो लागिसकेको छ । एजेन्सी