July 4th, 2016

स्विस बैंकमा नेपालीको ३५ अर्ब रुपैयाँ

swissस्विट्जरल्यान्डका बैँकहरुमा नेपाली नागरिकहरुको ३५ अर्ब रुपैयाँ डिपोजिट रहेको खुलासा भएको छ । स्विट्जरल्यान्डको केन्द्रीय बैँक स्विस नेसनल बैँकले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । तथ्यांक अनुसार त्यहाँका बैँकहरुमा नेपाली नागरिकहरुको ३१ करोड ४० लाख स्विस फ्र्याङ्क रहेको छ ।

यी बैँकहरुमा ककसले रकम जम्मा गरेका हुन् भन्ने खुल्न सकेको छैन । बैँकको तथ्याङ्क अनुसार त्यहाँका बैंकहरुमा झण्डै ४ प्रतिशत ग्राहक विदेशी नागरिक छन् । नेपालको कानुनले विदेशमा बैंक खाता खोल्न प्रतिबन्ध लगाएको छ । तर, यसअघि पनि खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था आइसिआइजेको पेपर्स लिकमा पनि नेपालसँग सम्बन्धित ८ जना ग्राहकको स्विस बैँकमा खाता रहेको देखाएको थियो । स्विट्जरल्याण्डका बैंकहरु गोपनियताका हिसाबले संसारमै प्रख्यात रहेका कारण यहाँका बैंकहरुमा संसारभरकै मानिसहरु रकम जम्मा गर्न लालायित हुन्छन् । विशेषतः स्रोत खुलाउन नमिल्ने रकम तथा सम्पत्ति यहाँका बैंकहरुमा जम्मा गर्ने गरेको पाइन्छ ।