Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सरकारसँग निजी क्षेत्रले माग्यो राहत प्याकेज

२०७६ चैत्र ३ गते
अर्थमन्त्रीलाई भेटेर व्यवसायीले उद्योगको अवस्थाबारे जानकारी गराए

कोभिङ–१९ भाइरसले नेपालको उद्योग व्यवसाय प्रभावित भएको भन्दै राहतको प्याकेज ल्याउन निजी क्षेत्रले सरकारसँग माग गरेको छ । कोरोनाले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे छलफल गर्न आइतबार अर्थमन्त्री युवराज खतिवडाले बैठक बोलाएका थिए । बैठकमा कोभिङ–१९ को रोकथाम र सम्भावित असर न्यूनीकरणका लागि पूर्वसावधानी अपनाउनेलगायत विषयमा छलफल भयो ।

छलफलमा उद्योगी व्यवसायीले प्रभावित क्षेत्रलाई पुनर्कर्जा सुविधा, ऋणको पुनर्संरचना तथा पुनर्तालिकीकरण दिनुका साथै ब्याजदर घटाउन पनि माग गरेका थिए । अर्थमन्त्री खतिवडाले भने अहिले कोभिड–१९ को प्रभाव छिटफुट रूपमा देखिए पनि ठूलो असर नभएकाले संयमित हुन आग्रह गरेका थिए । कुनै क्षेत्र दीर्घकालीन रूपमा प्रभावित भए सरकारले राहत प्रदान गर्ने उनले प्रतिबद्धता जनाए । दीर्घकालीन रूपमा पर्न सक्ने सम्भावित असरबारेको जानकारी लिखित रूपमा पठाउन उनले निर्देशन दिए ।

छलफलमा अर्थमन्त्री खतिवडाले आपूर्ति व्यवस्थापन सहज बनाउन निजी क्षेत्रलाई भने ।समग्र अर्थतन्त्र प्रभावित भएकाले सम्भावित थप समस्या नियन्त्रणका लागि सरकारले प्याकेजकै रूपमा सुविधा ल्याउन माग गरिएको सीएनआईका अध्यक्ष सतीशकुमार मोरको भनाइ छ । ‘अहिले पर्यटन क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित छ,’ उनले भने, ‘अप्रत्यक्ष रूपमा आयातनिर्यातदेखि आन्तरिक व्यापारसम्मको अवस्था दयनीय छ ।’

बजारमा उद्योगी व्यवसायीको मनोबल नै गिर्ने अवस्था सिर्जना भएकाले उनीहरूलाई प्रोत्साहन गर्न सरकारले सुविधा ल्याउनुको विकल्प नरहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छले बताए । ‘खासगरी साना तथा मझौला व्यवसायलाई लक्ष्य गरी सुविधाका कार्यक्रम ल्याउन भनेका छौं,’ उनले भने ।

सहभागीहरूले नेपालमा हालसम्म कोभिड–१९ बाट गस्त बिरामी नदेखिए पनि पर्यटन, व्यापारलगायत क्षेत्र धेरै प्रभावित भएको बताएका थिए । नेपालमा कोभिड–१९ को प्रभाव फैलिन नदिन काम गरिरहेकालाई साथ दिन निजी क्षेत्रलाई अर्थमन्त्रीले आग्रह गरेका थिए । बैठकमा व्यवसायीले चालु आवको तेस्रो त्रैमासमा तिनुपर्ने बैंकको किस्ता र करको विषयमा सहुलियत दिन, पुनर्कर्जाको सुविधा दिन माग गरेका थिए ।

राष्ट्र बैंकले पनि कोभिड–१९बाट प्रभावित क्षेत्रलाई पुनर्कर्जा सुविधादिने तयारी गरेको छ । यसका लागिराष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घोषणा गरेको थियो । ‘कोरोनाको संक्रमणका कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरू पहिचान गरी त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जामा पुनर्कर्जा सुविधा र पुनर्संरचना तथा पुनर्तालिकीकरणको व्यवस्थामा आवश्यकताअनुसार पुनरावलोकन गरिनेछ,’ समीक्षामा भनिएको छ ।

नेपालमा कोभिड–१९ को असर प्रारम्भिक रूपमै नदेखिएकाले सुविधाबारे छलफल भइनसकेको राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालले बताए । ‘कोभिड–१९ बाट बच्न बैंक तथा वित्तीय संस्थाले आफैं सावधानी अपनाइरहेका छन्,’ उनले भने, ‘भविष्यमा कुनै अप्ठ्यारो अवस्था आए केकस्तो सुविधा दिन सकिन्छ भन्नेबारे नीतिगत व्यवस्था गरिनेछ ।’

बैंक तथा वित्तीय संस्थाले पनि कोभिड–१९ बाट बच्न पूर्वसावधानी अपनाइरहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका केही देशमा फैलिरहको कोभिड–१९ को संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धि प्रभावित हुने देखिएको राष्ट्र बैंकको यसअघिको मासिक प्रतिवेदनको निष्कर्ष छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार । 

 

Ad