March 13th, 2020

डलरकाे भाउ अहिलेसम्मकै महँगाे

अमेरिकी डलर अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी १ डलर बिक्रीदर एक सय १९ रुपैयाँ ४ पैसा तोकेको छ ।

यो मूल्य बिहीबारकाे भन्दा ९२ पैसा बढी हो । बिहीबार १ अमेरिकी डलरको बिक्रीदर एक सय १८ रुपैयाँ १२ पैसा थियो । यस्तै बिहीबार एक सय १७ रुपैयाँ ५२ पैसा रहेको एक अमेरिकी डलरको खरिद दर शुक्रबार एक सय १८ रुपैयाँ ४४ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

विश्वमा अहिले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएसँगै अर्थबजारमा अस्थिरता सिर्जना भएको छ । त्यसैको असर अमेरिकी डलरमा पनि परेको छ ।

शेयर मार्केट खस्केको, कच्चा तेलको भाउमा गिरावट आएको, सुनमा लगानी गर्नेहरु बढेको लगायत कारणले अमेरिकी डलरको भाउ बढेको हो । सुनको माग बढिरहेको र सुन डलरमा कारोबार हुने भएकोले यसको असर प्रत्यक्षरुपमा डलरमा देखिएको हो । 

यही बीचमा अमेरिकाले कोरोना भाइरसबाट अर्थतन्त्रमा हुन सक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ब्याजदर घटाइदिएको छ । त्यसले पनि डलरको भाउ उच्च भएर गएको हो । 

उज्यालो दैनिकमा प्रकाशित समाचार ।