तीन दिनमा ५८ अंकले घट्यो नेप्से
सातामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ अर्ब बढीको कारोबार भएको छ । दुई साताअघिसम्म निरन्तर बढेर १ हजार ६३२ को बिन्दु पार गरेको सेयर बजार पछिल्लो दुई साता यता २५५ अंकले घटेर १ हजार ३७७ को बिन्दुमा झरेको छ ।
साताभरि १८७ कम्पनीको ७ अर्ब ७१ करोड ११ लाख २ हजार ३५४ रुपैयाँबराबरको १ करोड ९७ लाख ३५ हजार ५९२ कित्ता सेयर कारोबार भएका छन् । बजार पुँजीकरण ७१ अर्ब ५९ करोडले घटेर १७ खर्ब ६१ अर्ब २५ करोड ९० लाख ४० हजार पुगेको छ ।
गत साता १९० कम्पनीको १६ अर्ब २१ करोड बढीका ३ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएका थिए । बजार पुँजीकरण गत साता १८ खर्ब ३२ अर्ब ८५ करोड ५६ लाख पुगेको थियो । लगानीकर्तामा कोरोना भाइरसको मनोवैज्ञानिक त्रास बढी देखिएका कारण बजार घटेको सेयर बजार जानकार बताउँछन् । यसरी तर्सिनुपर्ने अवस्था नरहेको अनुभवी लगानीकर्ता बताउँछन् ।
यतिबेला लगानीकर्ताले अध्ययन गरेर सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्न आवश्यक छ । अर्कोतर्फ सरकार तथा अर्थमन्त्री पनि पछिल्ला दिनमा सेयर बजारप्रति निकै सकारात्मक देखिएका छन् । त्यसकारण लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था नभएको जानकार बताउँछन् ।
बैंक ब्याजदर घट्दो क्रममा रहेका बेला अल्पकालमा बजार नकारात्मक भए पनि दीर्घकालमा सेयर बजारले सकारात्मक गति लिने विश्लेषण गर्न सकिन्छ । यस्तो बेला आमलगानीकर्ता सेयर बजारप्रति सकारात्मक हुन आवश्यक रहेको जानकार बताउँछन् ।
साताभरि तीन दिनका लागि खुलेको सेयर बजारमा बुधबार मात्रै ७३ दशमलव ७८ अंकले बढेको हो । साताको दुई दिन आइतबार र सोमबार सार्वजनिक बिदा हुँदा कारोबार बन्द भएको थियो । साताको तेस्रो दिन मंगलबार मात्रै ८६ दशमलव ३८ अंकले घटेको बजार बिहीबार ४५ दशमलव ९१ अंकले घटेको हो । यस साता नेप्से सूचक ५८ दशमलव ५२ अंकले घटेर १ हजार ३७७ दशमलव १८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यस साता कारोबारमा आएको सबै उपपरिसूचक घटेका छन् । सातामा सबैभन्दा बढी जीवन बिमा समूह घटेको छ । जीवन बिमा ४८९ दशमलव २५ अंकले घटेको हो ।
निर्जीवन बिमा २३३ दशमलव ५३ अंकले घटेको छ । त्यस्तै होटेल ११३ दशमलव ९४ अंकले, उत्पादन तथा प्रशोधन ९३ दशमलव ४ अंकले, लद्युवित्त ७५ दशमलव ३ अंकले, विकास बैंक ६३ दशमलव ४८ अंकले, बैंकिङ ५५ दशमलव ३३ अंकले घटेका छन् भने अन्य समूह २४ दशमलव ८३ अंकले, जलविद्युत् २२ दशमलव ६३ अंकले, वित्त समूह १४ दशमलव ९२ अंकले, व्यापार समूह १३ दशमलव ९३ अंकले, र म्युचुअल फन्ड शून्य दशमलव ३० अंकले घटेका छन् ।
यस साता दुईवटा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा पोखरा फाइनान्सको ६ लाख ९० दशमलव ८३ कित्ता र स्वरोजगार लद्युवित्तको ७ लाख २० हजार ९९९ दशमलव ०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । नेप्सेको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिनसम्म खुला रहेको थियो ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक यस साता १२ दशमलव २१ अंकले घटेर २९५ दशमलव ५१ अंकको बिन्दुमा आइपुगेको छ ।
राजधानी दैनिकमा प्रकाशित समाचार ।
