खुलेको दुई घण्टा नबित्दै नेप्से सूचक ५ प्रतिशतले घटेपछि सेयर कारोबार ४० मिनेटका लागि बन्द भएको छ । बजार खुलेको १ घण्टा ३१ मिनेटमा बजार ५.०१ प्रतिशतले घटेको थियो ।
७२.०३ अंकले घटेर नेप्से १ हजार ३ सय ६३ विन्दुमा ओर्लेको छ । यस अवधिमा ९१ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
बजार खुलेदेखि नै लगातार घटेको नेप्से पहिलो १ घण्टा नबित्दै ४ प्रतिशतले घटेर २० मिनेटका लागि बन्द भएको थियो। २० मिनेटपछि खुलेको कारोबार पुन: ओरालो लागेको थियो। त्यसको केही क्षणमा नेप्सेमा ५ प्रतिशतभन्दा धेरै गिरावट आएपछि पुन: कारोबार स्थगन भएको हो ।
मंगलबार सात वटा कम्पनीका मात्र शेयर मूल्य केही बढेको छ भने १४० वटा कम्पनीको शेयर मूल्य घटेको छ । अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको दुई वर्षे कार्यकाल फागुन २० गते सकिने र उनलाई फेरी नदोहर्याउने निर्णय नेकपाले गरेपछि सेयरमा फागुन पहिलो साता उछाल आएको थियो।
तर, उनलाई राष्ट्रपतिबाट मनोनीत गर्ने कोटामा नेकपाले सिफारिस नगरे पनि ६ महिनासम्म सांसद नभए पनि मन्त्री बन्न पाउने संवैधानिक बाटो प्रयोग गरेर फागुन २१ गते मन्त्रीमा दोहोर्याएपछि ओरालो लागेको नेप्सेको यात्रा मंगलबार पनि रोकिएन।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।