वित्तीय साक्षरता : साधनको उपयोग, बचत, सीप र आम्दानी

बैंकिङ खबर । सिधा अर्थमा भन्नुपर्दा दीर्घकालीन वित्तीय सुरक्षाका लागि वित्तीय स्रोतहरुलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने क्षमता नै वित्तीय साक्षरता हो । यसलाई सामान्यतया आम्दानी, खर्च, बचत, लगानी र कर्जा लगायत विभिन्न पद्धतिका विषयमा जानकारी दिने शिक्षाको प्रकारको रुपमा बुझिन्छ ।

अहिले पनि विभिन्न पेशाकर्मी र व्यवसायीहरु नगद कारोबार गर्दछन् । आधुनिक अर्थव्यवस्था मुद्रामय भइसकेकाले उनीहरु मुद्रामै कारोबार गर्न थालेका हुन् । आय मुद्रामा हुने र सो आय मुद्रामैं सञ्चय र खर्च पनि हुने गर्दछ । मुद्रा अर्थतन्त्रको मेरुदण्ड नै हो । साथै मानिसले वित्तीय शिक्षाबाट साधनको उपयोग र बचत गर्ने सीप प्राप्त गरी कमाउने, बचाउने, खर्च गर्ने, ऋण लिने र लगानी गर्ने जस्ता कार्यहरू सम्पादन गर्न वित्तीय साक्षरता आवश्यक पर्दछ । कम आय हुने व्यक्तिहरु नै वित्तीय साक्षरताको लक्षित समूह हुन् ।

आर्थिक गतिविधि गर्ने सबै मानिसलाई वित्तीय साक्षरताको आवश्यकता भए पनि आर्थिक, सामाजिक र शैक्षिक रुपमा पछि परेका वर्गको आर्थिक क्रियाकलापलाई गतिशील दिशामा अघि बढाउनु र उनीहरुलाई वित्तीय पद्धतिको पहुँच पु¥याई तिनको आर्थिक जीवनस्तर उकास्नका लागि वित्तीय साक्षरता र आर्थिक पहुँचको कार्यक्रम सञ्चालन गरिन्छ । आफ्ना खर्चहरू नियन्त्रण गरी बचत गर्ने तथा घरमा पैसा नराख्ने गर्दा बैंक वा वित्तीय संस्थामा बचत सुरक्षित रहनुका साथै ब्याज पनि आउने भएकोले खाता खोलेकाहरुलाई कर्जा दिन केही सजिलो हुने हुँदा यो साक्षरताले वित्तीय पहुँचसँग सम्बन्ध राख्दछ ।

वित्तीय साक्षरताले विभिन्न वित्तीय उपकरणहरूको उपयोग, सामथ्र्य र सीमाबारे जानकारी प्रदान गर्दछ । समाजमा भईरहेका आर्थिक गतिविधिबारे जानकारी दिन्छ । खासगरी निम्न वर्ग र तप्काका व्यक्तिको आर्थिक अवस्थामा सुधार गर्न तर्फ केन्द्रित हुने हुँदा वित्तीय साक्षरताले आर्थिक ज्ञानमा वृद्धि गर्दछ । कतिपय रुढिबादी कुसंस्कारले आर्थिक शक्तिलाई क्षीण गर्दछ । देखासिकी, फजुल खर्च र बनावटी तडकभडकले आर्थिक अवस्थामा नकारात्मक प्रभाव पार्दछ । सामाजिक व्यवहार सुधारबाट आर्थिक परिवर्तन हुन्छ । समाजमा अझैपनि कमैया, हलिया, नोकरी–चाकरी, साहु–महाजन जस्ता अनेकौं आर्थिक पर्छौटेपनहरू छन् । अहिले बैंक, लघुवित्त, सहकारी संस्था, गैरसरकारी संस्थाहरूबाट सहयोग लिएर आफ्नो आर्थिक स्थितिमा परिवर्तन ल्याएका व्यक्तिहरू प्रशस्त देख्न सकिन्छ ।

वित्तीय साक्षरताभित्र पर्ने कुराहरु
वित्तीय साक्षरताभित्र पर्ने मूख्य विषयहरु निम्नानुसार छन् :

बजेटिङ
बजेट बनाएर सोही अनुसार चल्न सबैले सिक्नुपर्छ । यसले गर्दा हामीलाई वित्तीय अभाव कहिल्यै हुँदैन । अहिलेको आधुनिक युगमा विभिन्न वेभसाइट एवम् एप्सहरुको सहयोगमा बजेट बनाउन सकिने सुविधा छ । यसरी बनाएको बजेटले तपाईको कमाई कहाँ र कसरी खर्च भइरहेको भन्ने कुराको अवगत गराउँछ । त्यसैले, वित्तीय साक्षरताको पहिलो सुरुवात बजेट निर्माणबाट गर्नुपर्छ ।

ब्याजको प्रभाव
गणित विषयमा ब्याजसम्बन्धी हिसाबहरु सिकाइन्छ । किनकि, यसले सुरुमा लिएको सानो रकम र केही समयपछि थप गरि फिर्ता गरिएको रकम बीचको अन्तर बुझाउँछ । यो कुरा समयमा नै जान्यो भने तपाईँलाई वित्तीय रुपमा निकै सहयोग पुग्नेछ ।

बचत
त्यस्तै, वित्तीय साक्षरता अन्तर्गत हामीले सिक्नैपर्ने कुरा हो बचत । बचत गर्न नजानेसम्म हामीले गरेको आम्दानीको अर्थ हुँदैन । बचत भनेको वित्तीय सुरक्षा हो, जुन भविष्यमा कुनै पनि बेला काम लाग्न सक्छ । यो कुरा हामीले सानै उमेरदेखि सिक्नु जरुरी छ ।

लगानी
लगानी सम्बन्धी कुरा पनि जानी राख्नुपर्छ । लगानीका क्षेत्रहरु कुनकुन हुन् र आफूले कुन क्षेत्रमा लगानी गर्ने भन्ने कुराको ज्ञान हुनु पनि वित्तीय साक्षरता अन्तर्गत पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *