February 23rd, 2020

समयमा बीमा दावी भुक्तानी नगर्ने माथि कारबाही गरिने

अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताएका छन् । 

राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको उल्लेख गर्दै अवदेखि समयमा भूक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबारही गर्ने बताए । 

‘आफुले गरेको बीमाको रकम बीमा गर्ने संस्थाहरुले तिर्नु भएन भने कारबाही गर्ने हो । हामीकहाँ बीमा गर्याे समयमा भूक्तानी पाउन गाह्रो, दशथरी प्रमाण जुटाउन पर्ने ? अहिलेको प्रविधिको युगमा हामी उच्च प्रविधिको प्रयोग गरेर हरेक किसिमका दुर्घटनाहरुको विवरण लिने र अल्मोष्ट रियलटाइम, तत्कालै सुविधा दिन सक्ने, क्षतिपूर्ति दिन सक्ने बिमितको रकम फिर्ता दिन सक्ने अवस्था छ । उनले भने ‘त्यस्तो प्रणालीमा गइएन भने हामीले जतिसुकै संस्था विस्तार गरेपनि बीमाको विस्तार हुँदैन । हामीले छिट्टो तरिकाले पाउने भुक्तानी प्रदान गर्ने विधिमा जानुपर्छ ।’

अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले ठुलाठुला ग्राहक खोज्ने, ठुलाठुला कारोबार मात्रै गर्ने, सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृतिको अन्त्य गर्न समेत आग्रह गरे । 

त्यसका लागि आफुले गरेको कुल कारोबारको ५ प्रतिशत बीमा लघुबीमा गरेको हुनुपर्ने व्यवस्था गरेको समेत उनले बताए । सरकारले विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बीमामा पहुँच पुर्याउन १ लाखसम्मको बीमाको प्रिमियम निशुल्क गरेको र गत वर्ष २ अर्ब रकम खर्च गरेकाले बीमा कम्पनीहरुलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गरे । 

अर्थमन्त्री खतिवडाले अलि धेरै कमाउनेबाट कर बढी उठाएर भएपनि गरिबीको रेखामुनी रहेका नागरिकको बीमा गरिने उल्लेख गरे ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने बताए । त्यसका लागि बीमा समितिले सबै पूर्वाधारहरु तयार गरिसकेको र आगामि आर्थिक वर्षको सुरुदेखि नै जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित पूँजीलाई कार्यान्वयनमा ल्याउने जनाए । 

अध्यक्ष चापागाईंले राष्ट्रिय बीमा संस्थान लगायत राष्ट्रिय बीमा कम्पनीको लामो समयदेखिको लेखापरिक्षण समपन्न हुन नसकेको र यसलाई छिटो भन्दा छिटो सम्पन्न गर्न समेत निर्देशन दिए ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]