राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालको अवकाश नजिकिँदै गर्दा भावी नेतृत्वमा आउने दौड सुरु भएको छ। डा.नेपाल ७ चैतबाट बिदा हुँदै छन्। एक महिनाअघि बिदा बस्ने सामान्य प्रचलन भए पनि उनी अहिलेसम्म बिदा बसेका छैनन्। उनको ठाउँमा ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गर्न दौडधूप चर्किएको हो।
यस्तो दौडमा अर्थ मन्त्रालयबाट भर्खरै अवकाश पाएका पूर्वसचिव डा.राजन खनाल र राष्ट्र बैंककै सञ्चालक डा.सुवोधकुमार कर्ण सबैभन्दा अघि रहेको सम्बद्ध स्रोतले बताएको छ। ‘बाहिर हल्ला नगर्ने तर भित्रभित्रै निकै मेहनेतमा उहाँहरू दुई जना लाग्नुभएको छ’, प्रधानमन्त्री कार्यालयसम्बद्ध स्रोतले भन्यो।
राष्ट्र बैंकको गभर्नरको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ। बहालवाल अर्थमन्त्रीको संयोजकत्वमा गठन हुने तीन सदस्यीय समितिको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने भएकाले प्रधानमन्त्रीको निर्णय नै सर्वमान्य हुन्छ। त्यसैकारण गभर्नरका दाबेदार सीधै प्रधानमन्त्रीसम्म पहुँच स्थापित गर्न खोज्छन्।
भर्खरैमात्र निजामती सेवाबाट बाहिरिएका पूर्वसचिव खनाल पनि गत महिनासम्म राष्ट्र बैंकको सञ्चालक थिए। अर्थसचिव राष्ट्र बैंकमा पदेन सदस्य हुने व्यवस्थाबमोजिम उनी केन्द्रीय बैंकको सञ्चालक समितिमा रहँदै आएका थिए। राजस्वको ‘क्याडर’का रूपमा अर्थ मन्त्रालयको सचिव पद सम्हाले खनाल अवकाश पाउनु अघिदेखि नै गभर्नरको दौडमा रहेको समाचार सूत्रले बताएका छन्। डा.कर्ण भने चार्टर्ड एकाउन्टेन्ट हुन्। साउथ एसिया फोडेरेसन अफ एकाउन्टेन्टस् (साफा)का अध्यक्ष भइसकेका उनी खानेपानी महसुल निर्धारण आयोगका आर्थिक सल्लाहकार र नेपाल धितोपत्र बोर्डको सदस्यसमेत भइसकेका छन्।
यसबाहेक राष्ट्र बैंकका बहालवाला दुई डेपुटी गभर्नर पनि भावी गभर्नरको स्वाभाविक उमेद्वार हुन्। अहिले राष्ट्र बैंकमा चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ डेपुटी गभर्नर छन्। सम्पत्ति शुद्धीकरण र वित्तीय स्थायित्वमा पदीय मर्यादा मिचेर काम गरेको आरोप खेपेका श्रेष्ठलाई मन्त्रिपरिषद्ले हालैमात्र सफाइ दिएको छ। प्रधानमन्त्रीसँगै विशेष सम्बन्धका कारण उनले सफाइ पाउन सकेको चर्चा बैंकिङ क्षेत्रमा व्याप्त छ।
सिवाकोटी भने राष्ट्र बैंकको ३२ वर्षे सेवाअवधिमा हालसम्म ‘चोखा’ देखिएको राष्ट्र बैंक भित्रकै कर्मचारी बताउँछन्। उनले गत सातामात्रै ‘आर्थिक समृद्धि’ नामक पुस्तक प्रधानमन्त्री केपी ओलीकै हातबाट विमोचन गराएका छन्। गभर्नर नियुक्तिको पूर्वसन्ध्यामा बालुवाटारबाट पुस्तक विमोचन गराउन सफल सिवाकोटी पछिल्लो समय वित्तीय क्षेत्रमा मात्र होइन, अर्थ मन्त्रालयले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पनि राष्ट्र बैंकको प्रतिनिधित्व गर्दै आएका छन्।
यी बाहेक हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ पनि दाबेदार छन्। अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा उनको मुख्य सल्लाहकार र सहयोगीको भूमिका निर्वाह गरेका अधिकारी पनि वित्तीय क्षेत्रको कुशल प्रशासक मानिन्छन्। श्रेष्ठ पनि राष्ट्र बैंककै पूर्वकर्मचारी हुन्। पूर्वमाओवादी निकट उनी कार्यकारी निर्देशक हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्ने मौका पाएका थिए।
राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएर हाल नेपाल धितोपत्र बोर्डको अध्यक्ष बनेका भीष्मराज ढुंगानाले पनि गभर्नरको दाबी छाडेका छैनन्। नेपाल बैंकको अध्यक्ष रहेका राष्ट्र बैंककै क्याडर वासुदेव अधिकारी पनि गभर्नर पदका लागि सम्भावित उमेदवार भएको जानकार बताउँछन्। उनलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउनसक्ने हल्ला भए पनि उक्त पदमा आफ्नो रुचि नरहेको उनी स्वयम्ले बताउँदै आएका थिए।
कतिपयले अर्थ मन्त्रालयका पूर्वआर्थिक सल्लाहकार प्राडा गोविन्द नेपाललाई पनि भावी गभर्नरका रूपमा हेरेका छन्। पाटन क्याम्पसको अर्थशास्त्र विभागका प्रमुख भइसकेका उनी पार्टीभित्र माधव नेपाल पक्षधर मानिने उनका निकटवर्ती बताउँछन्। पाल्पाली भएकाले पार्टी महासचिव विष्णु पौडेलमार्फत उनी राष्ट्र बैंकसम्म पुग्नसक्ने बाटो भने अझै खुलै रहेको कतिपय बताउँछन्।
यद्यपि, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा भ्रस्टाचार आरोपमा राजीनामा दिन बाध्य भएपछि पुनः सरकारी समीकरण फेरिएको छ। यसअघि यौन दुव्र्यवहार आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुपरेपछि सभामुख र गभर्नरको पद पूर्व एमाले र पूर्व माओवादीले बाँड्नसक्ने आँकलन गरिएको थियो। ‘अब मन्त्री नियुक्तिपछिमात्रै प्रक्रिया अघि बढ्ने जस्तो देखिएको छ’, दाबेदारमध्येका एक भन्छन्, ‘के गर्छन् भन्ने टुंगो छैन।’ उनका अनुसार पनि आगामी ५ वर्ष नेपाली नोटमा हस्ताक्षर गर्ने भाग्य कसका लागि खुल्छ भन्ने थाहा पाउन अझै केही साता प्रतीक्षा गर्नुपर्ने भएको छ।
अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।