February 18th, 2020

एडीबीका परियोजनाबाट ३७ अर्ब शोधभर्ना

एसियाली विकास बैंक (एडीबी) को सहयोगका विकास परियोजना कार्यान्वयनबाट अहिलेसम्मकै उच्च शोधभर्ना सरकारले प्राप्त गरेको छ। एडीबीले सन् २०१९ मा अहिलेसम्मकै उच्च ३२ करोड ३७ लाख अमेरिकी डलर अर्थात् करिब ३७ अर्ब रुपैयाँ शोधभर्ना स्वरूप सरकारको खातामा पठाएको छ। सबैभन्दा बढी शोधभर्ना भएका परियोजनामा भूकम्प आपतकालीन सहयोग परियोजना, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) ऊर्जा प्रणाली विस्तार परियोजना, खाद्य सुरक्षा र कृषि व्यवसायीकरण कार्यक्रम, क्षेत्रीय सहरी विकास परियोजना, ग्रामीण सम्पर्कसञ्जाल सुधार परियोजना र विद्यालय क्षेत्र विकास सहयोग कार्यक्रम रहेको एडीबीले जनाएको छ।

भूकम्प आपतकालीन सहयोग परियोजनामा ४ अर्ब ३९ करोड रुपैयाँ, सासेक उर्जा प्रणाली विस्तार परियोजनामा ३ अर्ब २७ करोड रुपैयाँ, खाद्य सुरक्षा तथा कृषि व्यावसायीकरण परियोजनामा २ अर्ब ८५ करोड रुपैयाँ शोधभर्ना सरकारले एडीबीसँग लिएको हो। यस्तै क्षेत्रीय सहरी विकास परियोजनामा २ अर्ब ५१ करोड, ग्रामीण सम्पर्क सञ्जाल सुधार परियोजनामा २ अर्ब ३० करोड रुपैयाँ र विद्यालय क्षेत्र विकास सहयोग कार्यक्रमबाट २ अर्ब २८ करोड रुपैयाँ शोधभर्ना प्राप्त भएको हो।

एडीबी सहयोगका कार्यक्रमको वार्षिक समीक्षामा एडीबीका राष्ट्रिय निर्देशक मुख्तर खामुदखानोभले शोधभर्नामा सुधार आएको र विगतमा रहेका चुनौती यथास्थितिमै रहे पनि एडीबी सहयोगका परियोजनाको समग्र कार्यसम्पादन राम्रो देखिएको बताए।

एडीबीले नेपाललाई दिँदै आएको वार्षिक सहायता रकम वृद्धि गरेकाले उक्त सहयोग उपयोग गर्न परियोजना कार्यान्वयनमा तीव्रता ल्याउनुपर्ने उनको भनाइ थियो। ‘सहायता वृद्धि र परियोजना कार्यान्वयनमा तीव्रता आपसमा मेल खाएको खण्डमा त्यो परिणाममुखी हुन्छ’, उनले भने। खामुदखानोभले नेपालको जटिल भूबनोट, परियोजना स्थलको दुर्गमता, विकासका काम गर्दा अपनाउनुपर्ने अन्य हिफाजतका मुद्दा र नेपालको संघीयता कार्यान्वयनतर्फको संक्रमण विकास परियोजना कार्यान्वयनका चुनौतीका रूपमा देखिएको टिप्पणी गरे। सरकारले जोखिम र अवरोध हटाउन लगातार पहल गरिरहेको भन्दै उनले त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैठकमा सम्बन्धित निकाय, मन्त्रालयसँग छलफलले धेरै विषय समाधान गरेको उनको भनाइ थियो।

पोर्टफोलियो समीक्षा बैठकसँगै आयोजित विशेष समारोहमा अर्थ सचिव शिशिरकुमार ढुंगानाले राम्रो कार्यसम्पादन गर्ने परियोजनालाई सम्मान गरेका थिए।

सम्मानित हुनेमा तेस्रो साना सहरी खानेपानी आपूर्ति तथा सरसफाइ क्षेत्र परियोजना र समुदाय प्रबन्धित सिञ्चित कृषि क्षेत्र (अतिरिक्त वित्तीयकरण) उत्कृष्ट परियोजनाका रूपमा सम्मानित भएका छन्। सहरी खानेपानी तथा सरसफाइ क्षेत्र परियोजनाले खरिद व्यवस्थापनमा उत्कृष्ट टिम पुरस्कार प्राप्त गरेको छ। सासेक ऊर्जा क्षेत्र विस्तार परियोजनाले वातावरणीय र सामाजिक हिफाजत अनुगमनमा उत्कृष्ट टिमको सम्मान पाएको छ। तेस्रो साना सहरी खानेपानी आपूर्ति तथा सरसफाइ क्षेत्र परियोजनाले लैंगिक समानता र सामाजिक समावेशीताको सम्मान समेत प्राप्त गरेको छ। सासेक सडक सञ्जाल परियोजनाले वित्तीय व्यवस्थापन र भुक्तानी सम्मान जितेको छ।

सम्मानित परियोजना टिमको कार्यसम्पादन श्रेष्ठताले परियोजना कार्यान्वयन प्रभावकारी हुनुका साथै समय र लागत किफायती भएको तथा लैंगिक समानता, सामाजिक समावेशीता, वातावरणीय दीगोपना र सामाजिक हिफाजतले महत्व पाएको एडीबीका राष्ट्रिय निर्देशक खामुदखानोभको भनाइ थियो।

सन् १९६९ देखि एडीबीले नेपालको विकासमा सहयोग प्रदान गर्न थालेको हो। अहिलेसम्म एडीबीले नेपालमा ६ अर्ब डलर बराबरको वित्तीय र प्राविधिक सहायता दिएको छ। एडीबी सहयोगका परियोजना ऊर्जा, यातायात, सहरी विकास, स्वच्छ पानी आपूर्ति र सरसफाइ, कृषि र सिँचाइ, शिक्षालगायत क्षेत्रमा केन्द्रित छन्।

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]