पछिल्ला तीन सातामा नेप्सेमा २२ अर्ब ४८ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ। सेयर बजारमा कारोबार रकम बढ्नुलाई पनि बजारमा माग पक्ष हाबी हुँदै गएको संकेतका रूपमा लिइन्छ। यसले आउँदा दिनमा सेयरको भाउसँगै समग्र बजार सूचकांक पनि बढ्ने पूर्वानुमान गर्न सकिन्छ। पुसयता बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जालाई प्राथमिकतामा राख्न थालेका छन्। बैंकले सेयर किन्न ऋण दिन थालेपछि लगानीकर्ता उत्साहित भएको उक्त तथ्यांकले देखाउँछ।
गत साता नेप्सेमा ७ अर्ब ३९ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भयो। यो रकम अघिल्लो साताको तुलनामा करिब १३ प्रतिशत बढी हो। अघिल्लो साता ६ अर्ब ५४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो। त्यसो त, गत महिनासम्म ४० लाखको हाराहारी कारोबार हुने नेप्सेमा केही साताअघि यता दैनिक औसत १ अर्बभन्दा बढीको कारोबार हुन थालेको छ। दुई साताअघि पनि ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।
साताभरमा तीन दिन बढ्ने र दुई दिन घट्ने भए पनि नेप्से परिसूचक अघिल्लो साताभन्दा करिब ८ अंकमाथि नै रोकिएको छ। सुरु दुई दिनमा २४ अंक बढेको नेप्सेको उकालो गति साताको अन्त्यतिर भने पुरानै रफ्तारमा अघि बढ्न सकेन। पछिल्ला दुई दिन बजार सूचकांक १६ अंक खस्केपछि ठूलो परिमाणमा कारोबार भए पनि सूचकांकले भने लामो फड्को मार्न नसकेको हो।
आइतबारको तथ्यांकलाई आधार मानेर हेर्ने हो भने गत साता निर्जीवन बिमा, विकास बैंक, जलविद्युत् कम्पनी, व्यापार, अन्य र वित्त कम्पनी परिसूचक उकालो लागेका छन्। होटल, जीवन बिमा, लघुवित्त, उत्पादन तथा प्रशोधन र वाणिज्य बैंक समूहका परिसूचक आइतबार बढे पनि त्यसपछिका दिनमा घटेका छन्।
कारोबारको आधारमा गतसता नेपाल इन्स्योरेन्स कम्पनी सर्वाधिक आकर्षक देखियो। यो कम्पनीको २७ करोड ३१ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो। त्यसपछि नेको इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सको सेयर बढी कारोबार हुने सूचीमा रहेको नेप्सेको तथ्यांकमा उल्लेख छ। व्यापार भएको सेयर कित्ताका आधारमा भने गत साता सिभिल बैंक सबैभन्दा अघि देखिएको छ। बैंकको
गत साता नेप्सेमा चार कम्पनीको २ करोड ७० लाख कित्ता बोनश सेयर सूचीकृत भएको छ। प्रभु बैंकको १ करोड ४२ लाख, सानिमा बैंकको ८० लाख, गरिमा विकास बैंकको ४५ लाख र आशा लघुवित्त वित्तीय संस्थाको करिब २ लाख ४९ हजार कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।
अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।