लगानी जुटाउन नसकेर बजार विस्तार गर्न नसकेका, तर सम्भावना बोकेका कम्पनीका लागि पुँजी जोहो गरिदिने संस्था खुल्ने भएका छन् । सेयर जारी वा धितो राखेर बैंकबाट कर्जा लिन नसक्ने, तर सम्भावना बोकेका व्यवसायहरूलाई कोष खडा गरेर लगानी जुटाइदिने संस्थाहरू सञ्चालन गर्ने तयारी भइरहेको छ । धितोपत्र बोर्डमा यस्तो सहयोगी संस्था बन्न पाँच कम्पनीले आवेदन दिएका छन् । आवेदन दिनेमा नबिल क्यापिटल, लक्ष्मी क्यापिटल, एनएमबी क्यापिटल, कृति र ग्लोबल क्यापिटल छन् ।
विस्तार हुने क्रममा रहेका कम्पनी–व्यवसायहरूले पुँजी आवश्यक परेमा अहिलेसम्म मुलुकभित्र तीन तरिकाबाट लगानीको जोहो गर्दै आएका छन् । पहिलो बजारमा सेयर बिक्री गरेर सोझै पैसा उठाउने, दोस्रो लगानीका लागि व्यक्तिगत पहलबाट संस्थाहरू गुहार्ने र तेस्रो, बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने । धितोपत्र बोर्ड वा अनुमति पाएमा माथिका इच्छुक कम्पनीले वैधानिक बाटोबाट भिन्न तरिकाले सम्भावना बोकेका नवप्रवद्र्धक कम्पनीका लागि पुँजी जुटाइदिनेछन् ।
दायराबाहिर अनेकौँ
धितोपत्र बोर्डमा केही महिनादेखि अनुमतिको प्रक्रियामा रहेका यी संस्थाहरूले हालसम्म यस्तो लगानी जुटाउने काम भने गरिसकेका छैनन् । तर, दायराबाहिर भने यस्ता अनेकौँ संस्थाहरू छन्, जसले सम्भावित व्यवसायहरूमा लगानी गरिरहेका छन् । यस्ता सस्थाहरूलाई कसरी दायरामा ल्याउने, दायरामा नआए यिनको अस्तित्व रहने–नरहने भन्ने विषयमा नियामक निकाय निष्कर्षमा पुग्न सकेको छैन ।
‘हो, अहिले पनि कतिपयले विदेशबाट पुँजी ल्याएर यहाँका व्यवसायलाई लगानी जुटाइदिने गरिरहेका छन्, तर ती संस्था नियमन आउनुअघिदेखि नै सञ्चालनमा थिए,’ बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नीरज गिरीले भने, ‘यिनलाई कसरी दायरामा ल्याउने हामी छलफलकै चरणमा छौँ ।’ विशिष्टीकृत लगानी कोष नियमावलीमा यससम्बन्धी प्रावधानहरू अझै स्पष्ट नभएकाले बोर्डले थप परामर्श गरिरहेको छ । ‘कोषसम्बन्धी ऐन नै बनाएर मात्रै यी विषयलाई सम्बोधन गर्न सकिन्छ,’ हाल विदेशबाट पुँजी ल्याएर विभिन्न व्यवसायलाई लगानी जुटाइदिइरहेको डोल्मा इम्प्याक्ट फन्डका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देलले भने, ‘अहिले पनि यस्ता लगानी जुटाउने संयन्त्रहरूबारे हाम्रामा ठूलै द्विविधा छन् ।’
हाल मुलुकमा यसरी लगानी जुटाइदिने कम्पनीहरू कम्पनी ऐनअन्तर्गत रहेर सञ्चालित छन् । यस्ता कम्पनीले लगानी गर्न सक्ने क्षमताका व्यक्तिहरू मिलेर संस्था बनाउने र त्यसमार्फत अन्य संस्थामा लगानी गर्ने गरिरहेका छन् । व्यक्तिगत सम्बन्धका आधारमा लगानीकर्ता खोजी गरिदिने वा आफ्नो संस्थामार्फत नै लगानी गर्ने पनि गरिरहेका छन् । अब यस्ता कोष सञ्चालकका लागि नियामक नै तोकिसकेकाले यिनीहरू दायराबाहिर रहन मिल्ने देखिँदैन । ०७५ मा आएको नियमावलीले ६ महिनाभित्र यस्ता कोष बोर्डमा दर्ता हुनैपर्ने व्यवस्था गरेको छ ।
कोषको लगानी
विश्वमा प्रविधि प्रयोगमा आधारित तथा नवप्रवर्तन व्यवसायलाई प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, एन्जल क्यापिटललगायतका अवधारणाबाट पुँजी जुटाइदिने गरी विभिन्न संस्थाहरूले काम गर्ने गरेका छन् । नेपालमा पनि अनौपचारिक रूपमा यसरी पुँजी उपलब्ध गराइदिने संस्थाहरू नभएका होइनन्, तर अब भने नियमनको दायरामा रहने गरी संस्थाहरू आउन लागेका हुन् ।
‘विश्वमा विभिन्न तरिकाबाट लगानी गर्ने चलन छ, हामी प्रारम्भिक चरणमा नै रहेकाले अहिलेसम्म कुन तरिकाले लगानी गर्ने भन्ने सोच बनिसकेको छैन,’ एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले भने, ‘नेपालमा अहिले भेन्चर क्यापिटल र प्राइभेट इक्विटीका रूपमा काम गर्ने सम्भावना छ ।’
चलिरहेको संस्था समस्यामा रहेमा र त्यसमा सम्भावना कायम रहेमा प्राइभेट इक्विटीका रूपमा यस्ता कोषले लगानीकर्ताबाट उठाएको रकम लगानी गरिदिन सक्छ । त्यसबाहेक चलिरहेकै अवस्थामा केही सेयरधनीहरू निस्किने भएमा पनि यसरी कोषले अवसर देखे लगानी गर्छ । यस्तो एउटा कोष १५ करोडको हुनुपर्ने व्यवस्था छ भने यसमा भाग लिने लगानीकर्ताले पनि कम्तीमा ५० लाख रुपैयाँ लगानी गर्नुपर्छ । त्यस्तै, एउटा कोषमा दुई सयभन्दा बढी लगानीकर्ता हुन पाउँदैनन् ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।