January 19th, 2020

नेपाल राष्ट्र बैंकले जारी गर्यो आर्थिक अबस्था, कुन सूचक कस्ता ?

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको अर्थतन्त्रको अवस्था मिश्रित देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको मंसिर मसान्तसम्मको समीक्षामा शोधानान्तर स्थिती, व्यापार घाटा, विदेशी विनिमय जस्ता सूचक सकारात्मक देखिएका छन् भने उच्च मूल्यवृद्धि, वित्तीय क्षेत्रको असन्तुलन, रेमिट्यान्सको न्यून वृद्धि जस्ता समस्या पनि कायम रहेका छन् ।

मूल्य वृद्धि उच्च
२०७६ मंसिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, मसला, फलफुल र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणहरु उपसमूहको मूल्य बढेको छ ।

व्यापार घाटा घट्यो
निर्यातमा वृद्धि र आयातमा गिरावटका कारण कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतको गिरावटसँगै पाँच खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात ८.२ प्रतिशत पुगेको छ । जबकी अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।

मंसिरसम्ममा आयात ४.२ प्रतिशतले घट्दा निर्यात २७.० प्रतिशतले बढेको छ । जसअनुसार, कुल ४७ अर्ब ६२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ भने पाँच खर्ब ८१ अर्ब २६ करोड रुपैयाँको वस्तु आयात भएको छ । पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रड लगायतका वस्तुहरुको निर्यात घटेको छ । त्यस्तै, कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, अन्य घ मेसिनरी तथा पाटपुर्जा, विद्युतीय सामान लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ । ज्ञण्. भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगंज, विराटनगर, मेची, तातोपानी र कन्चनपुर बाहेकका नाकाहरुबाट गरिएको निर्यातमा ह्रास आएको छ ।

सामान्य बढ्यो रेमिट्यान्स
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनामा ०.१ प्रतिशत बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । मंसिर मसान्तसम्ममा तीन खर्ब ७६ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको छ । समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ११.८ प्रतिशतले बढेको छ भने पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७.६ प्रतिशतले बढेको छ । खुद ट्रान्सफर प्राप्ति ०.८ प्रतिशतले कमी आई चार खर्ब २५ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति २९.८ प्रतिशतले बढेको थियो ।

शोधानान्तर स्थिती
चालु खाता घाटा गत वर्ष एक खर्ब १९ अर्ब रहेकोमा यस वर्ष चालु खाता घाटा ७० अर्ब ३२ करोड रुपैयाँ कायम भएको छ । पुँजीगत ट्रान्सफर रु.५ अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ५७ करोड रहेको छ । शोधनान्तर स्थिति २३ अर्ब ३० करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।

विदेशी विनिमय सञ्चिति
२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०७६ मंसिर मसान्तमा रु.१०८८ अर्ब ३१ करोड पुगेको छ । यसमध्ये, नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ मंसिर मसान्तमा रु.९४६ अर्ब २९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ मंसिर मसान्तमा रु.१४२ अर्ब ३ करोड पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.५ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

कर्जा निक्षेप अनुपात
बैंकिङ क्षेत्रमा कर्जा र निक्षेपको असन्तुलन अझै कायम रहेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ४.० प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ । यद्यपि, कर्जाको वृद्धिदर गत वर्षको मंसिर मसान्तको तुलनामा घट्नुले सुधारको संकेत देखाएको छ । कृषि लगायतका उत्पादनशील क्षेत्रमा पनि बैंकहरुको लगानी बढ्दैछ । मंसिर मसान्तसम्मको तथ्यांक अनुसार, कृषि क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.० प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले बढेको छ ।

बैंकिङ पहुँच विस्तार
बैंकिङ पहुँच विस्तारमा उल्लेख्य प्रगति भएको छ । ७५३ स्थानीयतहमध्ये वाणिज्य बैंक नपुगेका स्थानीय तह १० मात्रै बाँकी छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०७६ असार मसान्तमा ८६८६ रहेकोमा २०७६ मंसिर मसान्तमा ९२९७ पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]