January 16th, 2020

पुनर्निर्माणमा विश्व बैंकको सहयोग ८० अर्ब पुग्यो

यसअघि नै ५७ अर्ब दिइसकेको विश्व बैंकद्वारा थप २३ अर्ब ऋण स्वीकृत

भूकम्पपछिको आवास पुनर्निर्माणमा विश्व बैंकले नेपाललाई सहयोग ७० करोड अमेरिकी डलर (करिब ८० अर्ब रुपैयाँ) पुर्‍याएको छ । हालै थप २० करोड डलर (करिब २३ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेसँगै पुनर्निर्माणमा विश्व बैंकको ऋणको आकार ८० अर्ब रुपैयाँ पुगेको हो । विश्व बैंकले पुनर्निर्माण परियोजनामा यसअघि नै ५० करोड अमेरिकी डलर सहयोग गरिसकेको छ । 

यसअघि जस्तै अहिलेको ऋण सहयोग पनि सर्वसाधारणलाई भूकम्पप्रतिरोधी आवास निर्माण गर्न खर्च हुने विश्व बैंकले जनाएको छ । यो सहयोगबाट थप ८६ हजार ६ सय ८० आवास पुनर्निर्माण हुने विश्व बैंकले उल्लेख गरेको छ । २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट नेपालको कुल गार्हस्थ उत्पादनको करिब ३३ प्रतिशत क्षति भएको नेपाल सरकारको अध्ययनले देखाएको थियो । भूकम्पपछिको पुनर्निर्माणलाई करिब ७ खर्ब रुपैयाँ आवश्यक पर्ने पनि अध्ययनले देखाएको छ ।

‘विनाशकारी भूकम्पपछि नेपालले सुरु गरेको पुनर्निर्माणका क्रममा कोही पनि पीडित नछुटून् भन्ने विश्व बैंकको उद्देश्य हो,’ विश्व बैंकका नेपाल निर्देशक आइडा सरायी–रिड्डिहाफले बताए । नेपाली जनताको आवास मात्रै होइन, जीवनलाई पनि पुनर्निर्माण गर्ने काममा विश्व बैंकले नेपाल सरकारलाई सघाइरहेको उनले बताए ।

विश्व बैंकको सहयोगमा यसअघि गरेको सहयोगबाट १ लाख ५१ आवास पुनर्निर्माणलाई सहयोग दिइसकिएको छ । आवास पुनर्निर्माणका लागि सरकारले भूकम्पपीडितको प्रतिपरिवार ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]