January 16th, 2020

बिमाको दाबी भुक्तानीबारे नयाँ निर्देशिका बन्दै : शाखा कार्यालयले पनि दाबी भुक्तानी गर्न सक्ने

बिमा कम्पनीका शाखा कार्यालयहरूसमेतले दाबी भुक्तानी गर्न पाउने भएका छन् । बिमा समितिले तयार गरिरहेको ‘दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन २०७६’ मा शाखा कार्यालयहरूले पनि रकमसम्मको दाबी भुक्तानी गर्न पाउने व्यवस्था राखिएको छ । नयाँ व्यवस्थाअनुसार कम्पनीहरूले आन्तरिक दाबी भुक्तानी कार्यविधि निर्माण गरी शाखा कार्यलयहरूलाई दाबी भुक्तानीको सीमा तोक्नुपर्नेछ । बिमा कम्पनीहरूले गर्ने दाबी भुक्तानीका विषयमा बिमा ऐन, नियमावली, निर्देशिकाहरूमा व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थाअनुसार कम्पनीहरूले आ–आफ्नै ढंगले दाबी भुक्तानी गर्दै आएका छन् । तर, बिमा दाबी भुक्तानीमा धेरै समस्या भएको गुनासो आउन थालेपछि बिमा समितिले एकीकृत दाबी भुक्तानी मार्गदर्शन जारी गर्ने तयारी गरेको हो । समितिले मार्गदर्शनका प्रारम्भिक खाका तयार पारेको छ । उक्त खाकामाथि थप छलफल गरेर अन्तिम रूप दिइने समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । ‘यो मार्गदर्शनले दाबी भुक्तानी प्रक्रियालाई सरल बनाउनेछ,’ उनले भने ।

निर्जीवन बिमा कम्पनीले ३५ दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने
निर्जीवन बिमा कम्पनीहरूले सर्भेयरले दुर्घटनाको प्रतिवेदन बुझाएको ३५ दिनभित्र दाबी भुक्तानी गर्नुपर्नेछ । निर्जीवन बिमाको दाबी परेमा आवश्यक परेमा बिमकले तुरन्त सर्भेयर खटाउन सक्नेछ । सर्भेयरले १५ दिनभित्र बिमकलाई प्रतिवेदन बुझाइसक्नुपर्नेछ । 

मुख्य बिमकमार्फत दाबीको प्रक्रिया सुरु गर्नुपर्ने
सहबिमा गरिएको अवस्थामा मुख्य (प्रिन्सिपल) बिमकमार्फत दाबीको प्रक्रिया सुरु गर्नुपर्नेछ । भुक्तानी प्रक्रियामा मुख्य बिमकले गरेको निर्णय अन्य सहायक बिमकले मान्नुपर्नेछ । लिडर बिमकको सञ्चालक समितिले निर्णय गर्नुपरेमा अन्य सहायक कम्पनीको सञ्चालक समितिमा छुट्टाछुट्टै पेस गर्नुपर्नेछैन । तर, सहायक कम्पनीले आफ्नो सञ्चालक समितिलाई भने जानकारी गराउनुपर्नेछ । 

दाबी विभागको गठन गर्नुपर्ने 
बिमकको संगठनात्मक संरचनाअन्तर्गत एउटा दाबी विभाग गठन गर्नुपर्नेछ । विभागीय प्रमुखद्वारा बिमकमा पर्न आएको दाबीको प्रकृति हेरी आवश्यक पर्ने कागजातहरू संकलन गर्ने तथा दाबी भुक्तानीका लागि आवश्यक प्रक्रिया अपनाउनुपर्नेछ । विभागले दाबी फस्र्योट कार्यविधि बनाउनुपर्नेछ । दाबीबारे बिमकलाई जानकारी दिनुपर्नेछ । दाबी भुक्तानीको निर्णय लिने अधिकार सञ्चालक समितिमा हुनेछ । समितिले एउटा उपसमिति गठन गरी भुक्तानीको निर्णय गर्न सक्नेछ ।

जीवन बिमा कम्पनीले सात दिनभित्र दाबी भुक्तानी गर्नुपर्ने
नयाँ व्यवस्थाअनुसार जीवन बिमा कम्पनीले सात दिनभित्रमा दाबी भुक्तानी गर्नुपर्नेछ । बिमा अवधि समाप्त हुनुअगावै बिमितको मृत्युमा भएमा हकवालालाई १५ दिनभित्रमा दाबी भुक्तानी दिनुपर्नेछ । 

त्यस्तै, कम्पनीहरूले दाबी भुक्तानी लिन आउन सूचना जारी गर्नुपर्नेछ । बिमाको अन्तिम शुल्क भुक्तानी गरिसकेको १५ दिनपछि बिमितको नाममा सूचना जारी गर्नुपर्नेछ । सूचना जारी गर्दा बिमितले बुझाउनुपर्ने कागजपत्रबारे समेत स्पष्ट पार्नुपर्नेछ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]