January 16th, 2020

बैंकबाट सहुलियत ऋण लिनै मुस्किल

सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्न सहुलियत कर्जा ब्याज अनुदान दिएको भए तापनि उद्यमीले बैंक सहुलियत कर्जा ऋण लिन सकेका छैनन् । बैंकमा सहुलियत ऋण लिन जाँदा बैंकले विभिन्न बाहना बनाएर फर्काउने गरेको उद्यमीको गुनासो छ ।

सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिसमेत बनाएको छ । सो कार्यविधि २०७५ मा महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म ५ वर्षका लागि अनुदानको व्यवस्था गरेको छ । तर, सो कर्जा लिन उद्यमीलाई धेरै सकस हुने गरेकोउद्यमी बताउँछन् ।

सरकारले सहुलियत कर्जा अनुदान महिला उद्यमीलाई ६ प्रतिशत ब्याज अनुदानदिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष उमेशप्रसाद सिंहले उद्यमीलाई सहुलियत कर्जा लिन सहज गर्न नेपाल राष्ट्रिय वाणिज्य बैंकका सबै शाखासँग महासंघले सम्झौता गरेको बताए ।

सहुलियत कर्जाका लागि नेपाल राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको भए पनि उद्यमीलाई कर्जा लिन सहज नभएको उनले बताए । विभिन्न बाहानामा बैंकले कर्जाका फाइलहरू रोक्ने गरेको उपाध्यक्ष सिंहको भनाइ छ । महासंघले कर्जाका लागि हालसम्म ३० वटा फाइल पठाएको छ तर कर्जा लिन सकेको छैन ।

जुत्ता चप्पल उद्यमी तथा नेपाल घरेलु तथा साना उद्योग महासंघकी सचिव प्रमिला बस्नेत भन्छिन्, ‘सरकारले घरेलु तथा साना उद्योगलाई प्रोत्साहनका लागि नीतिनियम ल्याए पनि कार्यन्वयनमा समस्या छ ।’ सरकारले ५ वर्षका लागि १५ लाख रुपैयाँ ६ प्रतिशतमा सहुलियत अनुदान कर्जा दिए पनि बैंकले दिन आनाकानी गर्ने गरेको उनको गुनासो छ ।

उद्यमी बैंकमा सहुलियत कर्जा लिन जाँदा अनावश्यक कागजपत्र माग र फाइल एकै ठाउँमा महिना दिनसम्म राख्ने र दुःख दिने काम भएको उनी बताउँछन् । सहुलियत ऋणका लागि समूहमा जाँदा पनि सहज नभएको उनको तर्क छ । उनी भन्छिन्,‘ उद्यमीलाई बैंकबाट सहजै ऋण पाउन सरकारसँग दिगो योजना छैन ।’

बस्नेतका अनुसार पछिल्लो समय धेरैजसो घरेलु उद्योग कागजी रूपमा बन्द नभए पनि सञ्चालन नभएको अवस्थामा छन् । त्यस्ता उद्योग कागजमा मात्र सीमित छन् । दोहोर कर लाग्ने हुँदा उद्यमीले उद्योग सञ्चालन गर्न सकेका छैनन् ।

राजधानी दैनिकमा प्रकाशित समाचार ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]