सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै काठमाडौं आइपुगेका छन् । ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन् । फिर्ता नगर्ने राय र रौनियारका सावाँ ब्याजसहित पैसा चुक्ता गर्दासमेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयको भनाइ छ ।
सर्लाहीका राजु कुुुसवाहले रामबाबु रायबाट ९ लाख रुपैयाँ ऋण लिएर २७ लाखको कपाली तकसुख बनाए । ब्याज समेतको रकम गरी १९ लाख ७३ हजार चुक्ता गर्दा पनि उनको तमसुख च्यातिएको छैन् जस्ताको त्यस्तै छ । कुसवाह मात्रै होइन सर्लाहीलगायतका जिल्लाका अधिकांश स्थानीय रायबाट पीडित छन् ।
ऋण दिने र तीन गुणाबढीको कागज बनाएर घर जग्गासमेत आफ्नो नाममा राख्ने गरेको स्थानीयहरुले बताउँदै आएका छन् । विकाउ रायले उनीबाट २ लाख रुपैयाँ ऋण लिएर ६ लाखको तमसुख बनाए साथै दुई विघा एक कट्ठा जग्गा उनको नाममा गरे । तर ५० हजार एक पटक र अर्को पटक ७३ हजार गरी एक लाख २३ हजार चुक्ता गर्दासमेत उनले आफ्नो जग्गा फिर्ता नपाएको बताए ।
सञ्जय रौनियारबाट एक करोड ऋण लिएका रविन्द्र कुसहवाले जग्गा किनन भनेर लिएर र उनले तीन करोडको कागज बनाए । पुख्र्यौली सम्पत्तिमध्ये ३४ कट्ठा घडेरी गरी अन्य गरी ४० कट्ठा जग्गा उनले आफ्नो साहुको नाममा गरिदिए । तर अहिले रौनियारले कुसहवाको जग्गामध्ये करिब २ करोड ५५ लाखको घडेरी र जग्गा बिक्री गरिसकेका छन् । पटक पटक आफ्नो जग्गा नबेच्न आग्रह गर्दासमेत रोनियारले जग्गा बेच्न छोडेका छैनन् । रौतियारलाई भेट्न खोज्दा समेत विभिन्न बाहना गरेर भेट्न नै नखोज्ने गरेको गुनासो कुसहवाले गरे ।
देवी महतोले ३५ हजार ऋण लिएर ४ कट्ठा जमिन साहुको नाममा गरे । १ लाख ५० हजार तिरेर जग्गा फिर्ता माग्न जाँदै उल्टै तीन लाख थप माग गरियो र उनको परिवारलाई घरबाट नै निकालियो ।
महान्यायाधीवक्ता अग्नि खरेलले ठगहरुलाई पक्राउ गरी जग्गा फिर्ता गर्ने आश्वासन दिँदै स्थानीय प्रशासनमा उजुरी दिन आग्रह गरे । “न्यायका लागि भनेर राजधानी आउनुभयो ठिक गर्नुभयो । तर लिएको पैसा भन्दा तीन गुणा बढीको कागज तपाईहरुले पनि गल्ती गर्नुभएको छ । तर अहिले जे जे बोल्नुभएको छ त्यही कुरा लेखेर प्रहरीमा निवेदन दिनुहोस् । न्याय पाउनुहुन्छ । अन्तिम समयसम्म सरकारलाई साथ दिनुहोस् न्याय पाइन्छ”, उनले भने ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले श्याम परदेशीलगायतका ठगहरुलाई तह लगाइएको बताउँदै राय र रौनियारलाई समेत नछोड्ने प्रतिवद्धता व्यक्त गरे । “सम्बन्धित जिल्लामा उजुरी दिनुहोस् तपाईहरुले न्याय पाउनुहुन्छ । फटाह बदमासहरुलाई तह लगाउँछौँ” उनले भने ।
राय र रौनियारले स्थानीयहरुको करोडौँ रुपैयाँ ठगेर उनीहरुको जग्गा पनि हडप्ने गरेका छन् । ऋण दिएको पैसाभन्दा तीन गुणाबढीको कागज बनाउने र जग्गा समेत आफ्नो नाममा गरि पैसा चुक्ता गर्दासमेत जग्गा फिर्ता नदिने गरेको स्थानीय बताउँछन् । गरिब जनताहरुको पसिनामाथि रजाइ गर्ने राय र रौनियार जस्ता ठगहरुलाई सरकारले कारवाहीको दायरमा ल्याएर न्यायको अनुभूति गराउन आवश्यक छ । कारोबार दैनिकमा प्रकाशित समाचार