नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले बैंकहरुमा आममानिसको लगानी धेरै रहेको कारणले गर्दा सरकारले नियमन वा नियन्त्रण गर्नैपर्ने अवस्था रहेको बताएका छन् ।
कान्तिपुर इकोनमिक समिटको ‘वित्तीय क्षेत्र– नियमन कि नियन्त्रण?’सत्रमा बोल्दै उनले अन्तराष्ट्रिय मूल्य मान्यता अनुरुप राष्ट्र बैंकले संचालनमा रहेका बैंकहरुको स्वास्थ्यताकै लागि पनि नियमहरु बनाउनुपर्ने अवस्था रहेको बताए। ‘हामीले अन्तराष्ट्रिय स्तरका सेवा र पहुँचलाई नेपालमा लागु गर्नका लागि नितीहरु बनाउँछौं, त्यसलाई लागु गर्न खोज्दा नियमन भन्नेकी नियन्त्रण?’ उनले भने।
उनले नेपालको वित्तीय क्षेत्रको आवश्यकता अनुसार नै नेपाल राष्ट्र बैंक बैंकहरुको चुक्ता पुँजीलाई आठ अर्ब पुर्याउने निर्णय लिएको बताए। ‘हामीले त्यो लागु गर्न खोज्दा संसदका समितिहरुमै बोलाएर त्यसलाई लागु नगर्न दबाब दिइएको थियो,’ उनले भने, ‘तर हामीले कसैको कुरा नसुनी त्यसलाई लागु गर्यौं। अहिले त्यो पनि कम पो भयो कि भन्ने कुरा आएको छ।’ ‘वित्तीय क्षेत्र– नियमन कि नियन्त्रण ?’ शीर्षकको तेस्रो सत्रमा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल, मेगा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतहरू अनुपमा खुन्जेली र अशोक शेरचनले आफ्ना विचारहरु राखेका थिए।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।