घरजग्गाको मूल्यमा आएको उतारचढाव र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव मूल्यांकन गर्न सहयोगी हुने
घरजग्गा मूल्य सूचकांक निर्माण गर्न राष्ट्र बैंकले अध्ययन थालेको छ । घरजग्गाको मूल्यमा भइरहने उतारचढावलाई प्रतिविम्बित गर्न राष्ट्र बैंकले सूचकांक निर्माण गर्न लागेको हो । धितोपत्र बजारको अवस्था प्रतिविम्बित गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) र ज्यालादरको उतारचढाव मूल्यांकन गर्न ज्याला सूचकांक भए जस्तै घरजग्गा कारोबारमा हुने उतारचढाव प्रतिनिधित्व गर्न घरजग्गा मूल्य सूचकांक बनाउन लागिएको हो । हाल नेपालमा यस्तो सूचकांक छैन ।
राष्ट्र बैंकले गत वर्षदेखि नै घरजग्गा सूचकांक निर्माणको तयारी थालेको थियो । ‘सूचकांक निर्माणका लागि गत वर्ष नीतिगत व्यवस्था तथा विधि प्रक्रिया तय गरियो,’ राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले भने, ‘अहिले घरजग्गा मूल्य सर्वेक्षण भइरहेको छ, यो वर्षभित्र अध्ययन पूरा गर्ने लक्ष्य छ ।’ घरजग्गाको मूल्यमा आएको उतारचढाव र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव मूल्यांकन गर्न सूचकांक सहयोगी हुने उनको भनाइ छ । ‘सूचकांकले मूल्य नियन्त्रणभन्दा पनि घरजग्गाको मूल्य प्रवृत्ति देखाउँछ,’ उनले भने, ‘सूचकांक घरजग्गा लगानीकर्ताका लागि लगानी निर्णय गर्न र त्यो क्षेत्रको मूल्य उतारचढावबारे जान्न उपयोगी हुन्छ ।’
मालपोतको तथ्यांकमा आधारित र बैंकहरूले कर्जा प्रवाह गर्दा आधार लिइएको घरजग्गा मूल्य सूचकांक गरी दुई वटा सूचकांक गणना गर्ने राष्ट्र बैंकको योजना छ । सूचकांक निर्माणका लागि तोकिएका २० वटा मालपोत कार्यालयको स्थलगत तथा अनलाइन सर्वेक्षणको काम सकिइसकेको छ । त्यसमा मुलुकभर बढी कारोबार हुने स्थान र हरेक प्रदेशमा दुइटा केन्द्र पर्ने गरी २० जिल्लाका मालपोत कार्यालय छानिएको छ । ‘बैंकिङ तथ्यांकमा आधारित घरजग्गा मूल्य सूचकांक निर्माणका लागि मालपोतको सर्वेक्षणबाट निर्धारित विभिन्न २० स्थानका ४० वटा वडाको सर्वेक्षण प्रक्रिया सुरु गरिएको छ,’ स्रोतले भन्यो, ‘यसका लागि बढी कारोबारको सघनता भएका तथा शाखा सञ्जाल बढी भएका छ वटा वाणिज्य बैंकको तथ्यांक लिइनेछ ।’ यसअन्तर्गत ०७५ साउन १ देखि पुस मसान्तसम्म घरजग्गाको धितोमा प्रवाह भएको कर्जाको वडाअनुसारको कर्जा विवरण खुल्ने गरी तथ्यांक संकलन गरी ‘सिस्टमेटिक स्याम्पप्लिङ’ मार्फत सूचकांक निर्माण गरिनेछ ।
