June 28th, 2016

विदेशबाट सुनचाँदी ल्याउँदै हुनुहुन्छ ? अब विचार पुर्याउनुहोला, जफत हुन सक्छ

goldतपाई विदेशबाट सुन र चाँदी ल्याउने सोचमा हुनुहुन्छ भने अब विचार पुर्याउनुहोस् । पहिलेको व्यवस्थामा परिवर्तन हुँदैछ । ‘भर्खरै त मैले ल्याएको’ भन्ने तर्क दिनुहुन्छ भने त्यो तर्क यही असार मसान्तसम्ममात्र काम लाग्नेछ । त्यसपछि सोही तर्कअनुरुप सुनचाँदी ल्याउने प्रयास गर्नुभयो भने एयरपोर्टमै जफत हुन सक्छ । यससम्बन्धी सूचना भन्सार विभागले जारी गरेको छ ।  
 
भन्सार विभागको सूचनामा भनिएको छ, ‘विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा निजी गुण्टा, झिटी भारी आदेश सम्बन्धी सूचना बमोजिम भन्सार महसुल तिरी वा नतिरी साविकमा ल्याउन पाउने सुन, साँदी तथा मदिराजन्य वस्तुको सूचीमा आगामी २०७३ श्रावण १ गते(२०१६ जुलाई १६) देखि लागु हुने गरी परिवर्तन गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’
 
सुनचाँदी आयातसम्बन्धी नियममा के–के परिवर्तन भयो ?
अहिलेसम्म सुन तथा सुनका ५० ग्रामसम्म महसुल नबुझाई ल्याउन पाइन्छ । अब भने ५० ग्रामसम्मका सुनका गहना महसुल नबुझाई ल्याउन पाउने तर ढिक्का सुन अर्थात् काँचो सुन ल्याउन भने बन्देज नै लगाइँदैछ ।
 
चाँदीको हकमा भन्नुपर्दा, अहिले चाँदी तथा चाँदीका गहना ५ सय ग्रामसम्म महसूल नबुझाई ल्याउन पाइन्छ । अब यति तौल भएका गहना महसूल नबुझाई त ल्याउन पाइन्छ तर काँचो चाँदी लिएर आउन बन्देज लगाइँदैछ ।
 
त्यस्तै, पहिले ६ महिनाभन्दा कम अवधि विदेशमा बसी ४ सय ग्रामसम्म सुन तथा सुनका गहना साथमा ल्याएमा लाग्ने भन्सार महसूलमा थप ५० प्रतिशत लाग्ने व्यवस्था थियो । अहिले भने त्यसलाई हटाइएको छ । महसूल बुझाएर पनि काँचो सुन ल्याउन पाइँदैन । गहना पनि ५० ग्रामभन्दा बढी ल्याउन नपाइने भएको छ ।
 
पहिले ६ महिना वा सोभन्दा बढी समय विदेशमा बसी ५ सय ग्रामसम्म सुन तथा सुनका गहना र एक किलोग्रामसम्म चाँदी तथा चाँदीका गहना साथमा ल्याएमा लाग्ने महसूल बुझाएर ल्याउन पाउने व्यवस्था थियो । अब भने त्यसम्बन्धी बुँदा हटाइएकोले महसूल बुझाएर पनि काँचो सुन तथा चाँदी ल्याउन पाइँदैन । गहना पनि सुनको भए ५० ग्राम र चाँदीको भए ५ सय ग्रामसम्म मात्र ल्याउन पाइन्छ ।
 
भन्सार विभागले सूचनामा भनेको छ, ‘श्रावण १ गतेबाट यस्तो व्यवस्था लागु हुने भएकाले कसैले माथि उल्लेखित ल्याउन नपाउने भनिएको समान ल्याएमा जफत गरिनेछ ।’

bidesh-bata-today-