Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीमा राजनीति, व्यवसाय भने कम्पनीबाट

२०७६ मंसिर २५ गते

सहकारीको नेतृत्व गर्दै संघ तथा महासंघमा पुग्नेहरू व्यवसाय सञ्चालनका लागि भने निजी कम्पनीमै आकर्षित हुने गरेका छन् । व्यवसाय निजी कम्पनीमार्फत सञ्चालन गरेपनि सामाजिक प्रतिष्ठा र राजनीतिका लागि मात्र सहकारी संघहरूलाई प्रयोग गरेका प्रवृत्ति बढ्दै गएको छ ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेत उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा मनोनित सदस्य हुन् । उनी महासंघको आसन्न साधारणसभामा जिल्लानगर उपाध्यक्षका दावेदारसमेत हुन् । यसअघि पनि जिल्लानगरमा उम्मेदवार रहेर पराजीत भएका थिए । सहकारीमा उनलाई निजी क्षेत्रको प्रतिनिधिका रूपमा लिन गरिन्छ । नेफ्स्कुनको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष बस्नेत र वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले दावी गर्दै आएका छन् । सहकारीको राजनीति गरेपनि उनीहरू भने कम्पनीमार्फत व्यवसाय सञ्चालनमै केन्द्रित छन् ।

घरेलु तथा साना उद्योगीको तर्फबाट महासंघको केन्द्रीय सदस्य रहेका बस्नेत पेट्रोल पम्प, प्रिन्टिङलगायतको व्यवसाय कम्पनीबाट सञ्चालन गरिरहेका छन् । पौडेल भने निजी क्षेत्रको सबैभन्दा बढी लगानी रहेको हाइड्रोपावर कम्पनी साहस उर्जा कम्पनीका मुख्य लगानीकर्तामध्ये एक हुन् । उक्त हाइड्रोपावरको उनी संचालक रहेर काम गर्दै आएका छन् ।
यसैगरी, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल पनि सहकारी क्षेत्रभन्दा बढी निजी क्षेत्रमा क्रियाशील छन् । उनी पनि साहस ऊर्जाका मुख्य लगानीकर्ता र सञ्चालक सदस्य रहेका छन् । उनी महासंघको भावी अध्यक्षका लागि दावी गरिरहेका छन् ।
राष्ट्रिय सहकारी संघका सञ्चालक र विकास बोर्डका सहअध्यक्ष समेत रहेका दक्ष पौडेल पनि प्रभु ग्रुपका मुख्य लगानीकर्ता हुन् । उनी प्रभु गु्रपमार्फत व्यावसायीक काम गर्ने र सहकारीमा राजनीतिका लागि मात्र नेतृत्वमा आएको आरोप लाग्ने गरेको छ ।
राष्ट्रिय महासंघ, केन्द्रीय संघ र जिल्ला संघको नेतृत्वमा रहेकाहरू निजी कम्पनीमार्फत व्यवसाय सञ्चालन गर्छन् । जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई हाइड्रो व्यवसायमै सक्रिय छन् ।
सहकारीका संघ तथा महासंघहरूमा सदस्य संस्थाहरूबाट प्रतिनिधित्व आएपछि संचालकका लागि उम्मेदवारी दिन पाइन्छ । तर संस्थाहरूबाट कस्तो व्यक्ति प्रतिनिधित्व आउने भन्ने विषयमा कुनै कानुनी प्रावधान छैन । यहि खुकुलो कानुनी प्रावधानको फाइदा उठाउदै निजी व्यवसायमा सक्रिय व्यक्तिहरू पनि सहकारीबाट प्रतिनिधि लिएर सहकारीको राजनीति पद ओगट्ने गरेका छन् ।
राजनीतिक र आर्थिक पहुँचका आधारमा प्रतिनिधि आउने व्यवस्था हुँदा सहकारीका संघसंस्थामा वास्तविक सहकारीकर्मी नेतृत्वमा आउन सकेका छन् । जसका कारण सहकारीका संघहरू व्यवसायीक हुन समेत सकेका छैनन् । सहकारी विज्ञ केशवबहादुर थापा निजी व्यवसाय सञ्चालन गर्नेहरू सहकारीको राजनीतिमा विकृति भएको टिप्पणी गर्छन् । “निजी कम्पनीमार्फत व्यवसाय गर्ने अनि पद र प्रतिष्ठाका लागि सहकारीका संघसंस्थामा नेतृत्व गर्नु गलत हो,” उनले भने, “यसै कारण सहकारीका संघहरू व्यावसायिक बन्न सकेका छैनन् ।”
सहकारीमार्फत व्यवसाय गर्नका लागि विभिन्न कानुनी झमेलाका कारण पनि निजी कम्पनी खोल्न बाध्य हुने गरेका छन् । सहकारीले व्यवसाय गर्दा अन्य निकायबाट अनुमति पाउने अवस्था नभएकाले कम्पनी खुल्ने गरेका छन् ।
केही समयअघि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अध्यक्षतामा एभरेष्ट इनर्जी कोअपरेटिभ स्थापना भएपनि सहकारीमार्फत जलविद्युत् आयोजन निर्माण गर्न नसकिएको भन्दै कम्पनीमा हस्तान्तरण समेत गरिएको थियो । सहकारी ऐनले सहकारी संस्थामार्फत ठूला आयोजना सञ्चालन गर्नका लागि विशिष्टकृत संघ स्थापना गर्न सकिने व्यवस्था गरिएको छ । जनअनुु्सार प्रारम्भिक संस्थाहरूले सेयर लगानी गरी विशिष्टकृत संघ स्थापना गर्ने र यसैमार्फत् ठूला परियोजनामा लगानी गर्न सक्नेछन् । तर, हालसम्म यस व्यवस्थाअनुसार सहकारीहरूले काम गर्न सकेका छैनन् । बरु सहकारी संस्थाहरूले निजी कम्पनीमा समेत लगानी गर्न पाउने बाटो खुल्ला गर्न लबिङ हुँदै आएको छ ।

कारोबार दैनिकमा प्रकाशित समाचार ।

Ad