June 28th, 2016

भारतीय बैंकमा नेपालीले खाता खोल्ने प्रक्रिया सहज बनाइँदै

bankingमंगलबार भारतको नयाँ दिल्लीमा नेपाल–भारत अन्तर सरकारी समिति (आईसीजी) को बैठक बस्दैछ । बैठकमा भारतीय बैंकमा नेपालीले खाता खोल्ने र रेमिट्यान्स पठाउने प्रक्रिया सहज बनाउनुपर्ने माग नेपालले प्रमुखताका साथ उठाउने भएको छ । साथै, चार उत्पादनमा लाग्दै आएको कोटा प्रणालीको खारेजी, सेवा शुल्क हटाउनुपर्ने र रेल जोडिएका सबै नाकाबाट कार्गो सुविधाका विषय पनि नेपालका एजेन्डा छन् ।

अढाइ वर्षको अन्तरालमा हुने बैठकमा वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले टोलीको नेतृत्व गर्दै छन् । उपाध्याय सहितको टोली सोमबार नै भारतर्फ गएको छ । बैठकमा भारतमा कार्यरत नेपालीले बैंकिङ माध्यमबाट पठाउन पाउने वार्षिक रकमको सीमा बढाउने विषयमा पनि छलफल हुने छ । हाल नेपाली कामदारले वार्षिक अधिकतम ५० हजार रुपैयाँ भारु मात्र बैंकमार्फत पठाउन पाउँछन् । नेपाल–भारत मैत्री सन्धिअनुसार नेपाली नागरिकले पनि भारतीय नागरिकसरह सुविधा पाउनुपर्नेमा नेपाली कामदारले बैंक खाता खोल्न सहज छैन ।