निक्षेपकर्ता, ऋणी र सदस्यले बैंक, वित्तीय तथा सहकारी संस्थाबाट पाउने बीमा सुविधामा कडाइ गरिएको छ । हाल बैंक तथा वित्तीय संस्थाले बीमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बीमा सुविधा प्रदान गर्दै आएका छन् । बीमा समितिले सोमवार ‘बीमकले सहकार्यमा बीमा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने नीतिगत मार्गदर्शन, २०७६’ जारी गर्दै त्यस्ता संस्थाका ग्राहकलाई दिइने बीमा सुविधामा सीमा तोकेको हो ।
यद्यपि, समितिसँग बैंक तथा वित्तीय संस्था तथा उनीहरूका ग्राहकलाई नियमन गर्ने अख्तियार भने छैन । त्यसैले समितिले बीमा कम्पनीहरूलाई सोही मार्गदर्शनबमोजिम बैंक तथा वित्तीय संस्थाका ग्राहकको बीमा गर्न निर्देशन दिएको हो, जसअनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहक र सदस्यले पाउने बीमा सुविधा घट्ने देखिएको छ ।
हाल बैंकहरूले बीमा कम्पनीहरूसँगको सहकार्यमा आफूखुशी ग्राहकलाई स्वास्थ्य, दुर्घटना तथा औषधोपचार बीमा सुविधा दिँदैआएका छन् । अब बैंकहरूले मार्गदर्शनअनुसार मात्र आप्mना ग्राहकलाई बीमा सुविधा दिनुपर्ने छ ।
नयाँ व्यवस्थाअनुसार जीवन बीमा कम्पनीले त्यस्ता संस्थाका ग्राहक तथा सदस्यको अधिकतम रू. १० लाखसम्मको मात्र घातक रोग बीमा गर्न पाउँछन् ।
औषधोपचार बीमा भने रू. १ लाखभन्दा बढीको गर्न नपाइने व्यवस्था गरिएको छ ।
निर्जीवन बीमा कम्पनीले पनि सोही सीमामा रहेर उनीहरूको घातक रोग तथा औषधोपचार बीमा गर्नुपर्ने छ । उनीहरूले त्यस्ता संस्थाका ग्राहकको दुर्घटना बीमा गर्दा पनि रू. १० लाखभन्दा बढीको बीमांक राख्न नपाउने व्यवस्था गरिएको छ ।
तोकिएको सीमाभन्दा बढीको बीमांकमा बीमा गर्दा कम्पनीले सम्बद्ध जोखिमांकन गर्नुपर्ने व्यवस्था पनि मार्गदर्शनमा गरिएको छ । सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका आधारमा जोखिमांकन गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
हाल बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई दिने बीमा सुविधाको विषयमा कुनै नीतिगत व्यवस्था छैन । सोही विषयलाई ध्यानमा राखेर समितिले त्यस्तो बीमा व्यवसायलाई नियमनको दायरामा ल्याएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई बीमा सुविधा दिँदा तोकिएको खाकामा प्रस्ताव फारम भर्नुपर्ने व्यवस्था पनि गरिएको छ । प्रस्ताव फारममा ग्राहकको स्वास्थ्य स्थितिको बारेमा पनि जानकारी दिनुुपर्ने बताइएको छ । यसअघि ग्राहकलाई बीमा सुविधा दिँदा यस्तो औपचारिकता पूरा गर्नुपर्ने बाध्यता थिएन ।
यस्तै, त्यस्ता संस्थाले ग्राहकलाई बीमा गरिदिएको प्रमाणपत्र पनि दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । सोका अतिरिक्त बीमा कम्पनीले पनि सम्बद्ध संस्थाको नाममा छुट्टै मूल बीमालेख जारी गर्नुपर्ने बताइएको छ ।
समितिले यस्तो बीमा व्यवसायको प्रचारप्रसारमा पनि कडाइ गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई सित्तैमा बीमा सुविधा दिने भनेर प्रचार गर्ने गरेका छन् । तर, त्यो ग्राहकका लागि सित्तैमा भए पनि उनीहरूले सम्बद्ध बीमा कम्पनीलाई तोकिएको शुल्क तिरेका हुन्छन् । तसर्थ, यस्तो बीमाबापात लाग्ने प्रिमियम संस्था स्वयंले नै बेहोर्ने भनी प्रचार गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यस्तो बीमा व्यवसायलाई व्यवस्थित बनाउन मार्गदर्शन जारी गरिएको बताए । ‘पहिला ग्राहकले बैंकमा खाता खोलेर केही पैसा जम्मा गर्नेबित्तिकै बीमा हुन्थ्यो । त्यसले गर्दा यो व्यवसाय केही जोखिमयुक्त पनि देखियो,’ उनले भने, ‘तर, अब त्यस्तो अवस्था हुँदैन, त्यस्ता संस्थाहरूले ग्राहकको स्वास्थ्य परीक्षण गरेर बीमा गरिदिएको प्रमाणपत्र पनि दिनुपर्छ ।’
भ्रमण वर्षको प्रवर्द्धनमा सहभागी हुन निर्देेशन
समितिले अर्काे परिपत्र जारी गर्दै बीमा कम्पनीहरूलाई भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा सहभागी हुन निर्देशन दिएको छ । समितिको निर्देशनअनुसार अब कम्पनीहरूले आफ्नो आधिकारिक वेबसाइटमा भ्रमण वर्षको लोगो राख्नुपर्ने छ । साथै, कम्पनीहरूले प्रकाशित गर्ने बुलेटिनमा पनि भ्रमण वर्षसँग सम्बद्ध लेखरचना राख्नुपर्ने समितिले स्पष्ट गरेको छ ।
यस्तै, कम्पनीका प्रतिनिधिहरू विदेश भ्रमणमा जाँदा पनि यस विषयमा जानकारी तथा वक्तव्य दिनुपर्ने व्यवस्था गरिएको छ । त्यसका अतिरिक्त पर्यटकको प्रमुख गन्तव्य स्थलमा सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत शौचालय, डस्टबिन, पिउने पानी, विश्रामस्थल जस्ता पूर्वाधारको व्यवस्था गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।