December 9th, 2019

बढ्दै छ नेपालबाट बाहिरिने विप्रेषण

चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ३ महीनामा नेपालबाट विप्रेषण मार्फत रू. १ अर्ब ३१ करोड रकम बाहिरिएको छ । गत आवको प्रथम त्रैमासमा विप्रेषण मार्फत रू. १ अर्ब ८ करोड बाहिरिएको थियो । चालू आवको प्रथम त्रैमासमा विप्रेषण उत्प्रवाह (बाहिर जाने) २१ दशमलव २९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । 

नेपालका विभिन्न प्रतिष्ठानमा कार्यरत विदेशी कामदारहरूले उक्त रकम विदेश पठाएका हुन् । राष्ट्र बैंकका अनुसार पछिल्लो समय नेपालबाट वार्षिक रू. १० अर्बभन्दा बढी विप्रेषण उत्प्रवाह हुने गरेको छ । गत आव २०७५/७६ मा विप्रेषण मार्फत कुल रू. १० अर्ब ८० करोड रकम बाहिरिएको थियो, जुन आव २०७ं४/७५ को तुलनामा ८६ दशमलव २० प्रतिशतले बढी हो । आव २०७४/७५ मा रू. ५ अर्ब ८० करोड बराबरको विप्रेषण उत्प्रवाह भएको राष्ट्र बैंकको भनाइ छ ।

नेपालबाट कुन देशमा कति विप्रेषण उत्प्रवाह भयो भन्ने विषयमा भने राष्ट्र बैंकसँग यकिन तथ्यांक छैन । तर, नेपालदेखि भारतमा सबैभन्दा बढी विप्रेषण उत्प्रवाह हुने गरेको राष्ट्र बैंकको प्रारम्भिक अनुमान छ । नेपालमा भारतका कामदार बढी भएकाले त्यहाँ सबैभन्दा बढी विप्रेषण उत्प्रवाह हुन सक्ने राष्ट्र बैंकको भनाइ छ । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले नेपालबाट यति विप्रेषण उत्प्रवाह हुनु स्वाभाविक भएको बताए । ‘आर्थिक वृद्धिदर बढाउन विदेशी जनशक्ति पनि आवश्यक हुन्छ । अहिले देशको आर्थिक वृद्धिदर बढिरहेको छ । तसर्थ, यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौं,’ उनले भने, ‘मुलुकको आर्थिक वृद्धिदर घट्ने र विप्रेषण उत्प्रवाह बढ्ने गरेको भए अर्थतन्त्रमा नकारात्मक असर गर्ने थियो ।’ नेपालमा वार्षिक रू. ८ खर्बभन्दा बढी विप्रेषण आप्रवाह हुने गरेको छ ।

चालू आवको पहिलो त्रैमासमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो, यो अवस्थामा नेपालदेखि बाहिरिने विप्रेषण भने बढ्दै गएको देखिन्छ । विशेषगरि नेपालमा विदेशी कामदारको संख्या बढ्दै गएपछि यहाँबाट बाहिरिने विप्रेषण बढेको हो । पछिल्लो समय होटल, एयरलाइन्स कम्पनी तथा औद्योगिक क्षेत्रमा विदेशी कामदारको संख्या बढ्दै गएको छ । साथै, अनौपचारिक क्षेत्रमा कार्यरत कामदारले पनि औपचारिक रूपमा पैसा पठाउन थालेपछि बाहिरिने विप्रेषण बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ ।

हाल डाबर नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक, नेशनल इन्स्योरेन्सजस्ता विदेशी स्वामित्वका कम्पनीहरूमा कार्यरत विदेशी कर्मचारी तथा कामदारहरूले विपे्रषणमार्फत पैसा पठाउने गरेका छन् । तर, निर्माणजस्ता अनौपचारिक क्षेत्रमा कार्यरत कामदारले अझै विप्रेषणमार्फत पैसा पठाउने गरेका छैनन् । 

नेपालका निर्माण क्षेत्रमा भारतीय कामदार बढी मात्रामा देखिन्छन् । उनीहरूले आफ्नो ज्याला नगद रूपमा नै स्वदेश लिएर जाने गरेका छन् । उनीहरूले पनि औपचारिक रूपमा पैसा पठाउने हो भने बाहिरिने विप्रेषणको मात्रा अझै बढ्ने केन्द्रीय बैंकका कार्यकारी निर्देशक भट्ट बताउँछन् ।  

‘अहिले केही कामदारले औपचारिक रूपमा पैसा पठाउन शुरू गरेका छन् । सबै कामदारले विप्रेषणमार्फत पैसा पठाउने गरेको पाइँदैन,’ भट्टले भने, ‘तर, अहिले सरकारले सबै कामदारलाई प्यान नम्बर अनिवार्य गरेको छ, जसअनुसार अब अनौचापरिक क्षेत्रका कामदारले पनि औपचारिक रूपमा पैसा पठाउने अपेक्षा लिएका छौं ।’

यसैबीच राष्ट्र बैंकले अनौपचारिक क्षेत्रका कामदारमार्फत कति रकम बाहिरिन्छ भन्ने विषयमा पनि अध्ययन गर्ने तयारी गरेको छ । कार्यकारी निर्देशक भट्टले यस विषयमा आवश्यक तयारी भइरहेको बताए । उनले भने, ‘तर, अहिले नेपालको अनौपचारिक क्षेत्रमा कति विदेशी कामदार छन् भन्ने यकिन तथ्यांक छैन । त्यसैले अध्ययनमा केही अप्ठ्यारो हुने देखिएको छ । तैपनि हामी यस विषयमा अध्ययन गर्नेछौं ।’

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]