Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहुलियतपूर्ण कर्जाका लागि चार बैंकसँग समझदारी

२०७६ मंसिर १३ गते

सहुलियतपूर्ण कर्जा प्रवाहमा समन्वय गर्न चारवटा वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद्बीच समझदारी भएको छ । ‘सहुलितपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७६ अनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्न तथा प्रवाह भएको कर्जामार्फत उद्यमशीलता र उत्पादन बढाउन बैंकहरू र परिषद्बीच समझदारी भएको हो ।

तीन सरकारी बैंकहरू नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र एक निजी क्षेत्रको एनएमबि बैंकले राष्ट्रिय युवा परिषद्सँग समझदारी गरेका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा भएको समझदारीअनुसार बैंकहरूले सहुलियतपूर्ण कर्जालाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउने तथा परिषद्ले लक्षित युवा तथा समुदायको सीप, क्षमता तथा उद्यमशीलता विकासमा सहयोग गर्नेछ । 

सरकारले अघिल्लो आवमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ सञ्चालनमा ल्याएर महिला उद्यमशीलता, शिक्षित युवा स्वरोजगार, दलित समुदाय व्यवसाय विकास, विदेशबाट फर्केका युवा परियोजनालगायतमा कार्यक्रम सुरु गरेको हो । संशोधन भएपछि ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७६’ लाई प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्न तथा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गर्न उक्त समझदारी गरिएको हो । 

सरकारले अघिल्लो आवदेखि सहुलियतपूर्ण कर्जा दिन थालेको हो । व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा, महिला उद्यमशीलता कर्जा, भूकम्पपीडितहरूको निजी आवास निर्माण कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जालगायत ९ क्षेत्रमा यस्तो कर्जा प्रवाह हुन्छ । यसमा ३ लाखदेखि ५ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सकिन्छ । यो प्रकृतिको कर्जामा बैंकहरूले आफ्नो आधारदरमा बढीमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्छन् । सरकारले ६ प्रतिशतसम्म ब्याज अनुदान उपलब्ध गराउँछ । यद्यपि, बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जा उपलब्ध गराउन उत्साह देखाएका छैनन् । 

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रक्रिया पु¥याएर सहुलियतपूर्ण कर्जा माग गर्दा प्राप्त नभएमा आफूलाई इमेल गर्न आग्रह गरेका छन् । ‘तोकिएका प्रक्रिया पूरा गरेर बैंकबाट कर्जा माग्नुस्,’ उनले भने, ‘यदि पूरै प्रक्रिया पूरा गर्दा पनि बैंकले कर्जा दिएनन्, साना ग्राहक भनेर हेपे वा दायाँबायाँ गरे भने मलाई इमेल गर्नुहोस्, अथवा हामीकहाँ हटलाइनको पनि व्यवस्था हुन्छ, त्यसमा खबर गर्नुहोस् अनि हामी एक्सन लिन्छौँ ।’  नयाँपत्रिका दैनिकमा प्रकाशित समाचार 

Ad