काठमाडौं । गत भदौ र असोजका दुई ह्याकिङ प्रकरण नसेलाउँदै मुलुकको बैंकिङ क्षेत्रमा पुनः अर्काे ठूलो आपराधिक घटना भएको छ । जनता बैंक तथा मुक्तिनाथ विकास बैंकबाट किर्ते हस्ताक्षर गरी एक समूहले ३० लाख रुपैयाँ झिकेको छ ।
नेपाल प्रहरीका अनुसार जनता बैंकका खातावाल गोपालमान राजवाहकको नाममा किर्ते हस्ताक्षर गरी उनको खाताबाट रू. १९ लाख ९९ हजार झिकियो भने सोही समूहले मुक्तिनाथ विकास बैंकबाट रू. १० लाख रुपैयाँ झिकेको पाइएको छ ।
महानगरीय प्रहरी परिसर टेकुले उक्त समूहका ६ जनालाई सोमवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोकका सुभाष श्रेष्ठ, कुमार तामाङ, मनीष घिमिरे, अञ्जान बराल, बागलुङका सुमन पौडेल र सिन्धुपाल्चोकका गोविन्द घिमिरे छन् ।
प्रहरीले उनीहरूलाई बैंकिङ कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले अनुसन्धानका लागि उच्च अदालतबाट ७ दिनको म्यादसमेत पाइसकेको छ ।
प्रहरीका अनुसार उनीहरूले जनता बैंकको ग्वार्काे शाखाबाट राजवाहकको नाममा चेक झिकेका थिए । त्यसपछि उनीहरूले त्यही चेकमा किर्ते हस्ताक्षर गरेर नयाँ बानेश्वर शाखाबाट रू. ९ लाख ९९ हजार र न्यूरोड शाखाबाट दुईपटक गरी ५/५ लाख रुपैयाँ झिकेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उक्त समूहका एक सदस्यले आइतवार २ बजेतिर जनता बैंक ग्वार्को शाखामा राजवाहकको नाममा चेकबुक हराएको भन्दै नयाँ चेक दिन निवेदन दिएका थिए । निवेदनका आधारमा उक्त शाखाले पनि तत्काल चेकबुक बनाएर दिएको र लगत्तै उक्त समूहले आइतवार नै जनता बैंकको नयाँ बानेश्वर शाखा र न्यूरोड शाखाबाट पटकपटक गरेर रकम झिकेको प्रहरीले बताएको छ ।
नयाँ बानेश्वरमा साटिएको चेक तेजबहादुर भुजेलका नाममा काटिएको छ । त्यो चेकमा भएको पैसा भुजेलको जनता बैंककै खातामा जम्मा हुन्छ र सोही खाताबाट नगद निकालिएको पाइएको छ । अर्काे एउटा चेक भने रोहित कार्कीको नाममा काटिएको प्रहरीको भनाइ छ ।
तर, मुक्तिनाथ विकास बैंकबाट झिकिएको रकमबारे भने अभैm केही खुलेको छैन । बैंकले यस विषयमा प्रहरीलाई खबर गरिसकेको छ । प्रहरीले पनि यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ ।
प्रहरीले उनीहरूबाट रू. १८ लाख ५० हजार नगद बरामद गरेको छ । साथै, विभिन्न व्यक्तिको नाममा काटिएको ३२९ चेक पनि बरामद गरिएको प्रहरीको भनाइ छ । यसका अतिरिक्त २ हजार व्यक्तिको नागरिकताको फोटोकपी समेत बरामद गरिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार जनताको १६, एभरेष्टको २०, माछापुछ«ेको १७, मुक्तिनाथ विकासको ४१, ज्योति विकासको १ थान र एनआईसी एशिया बैंकको ६८ थान चेकबुक बरामद गरिएको छ । साथै, खाता खोल्न तयार गरिएको ३०० फर्म, ८९ भिषा कार्ड, विभिन्न व्यक्तिको ८२५ पासपोर्ट साइज फोटो समेत बरामद गरिएको प्रहरीको भनाइ छ । यसबाहेक अन्य १९५ जनाको बैंक स्टेटमेन्ट र २ बोरा जति बैंकसँग सम्बन्धी कागजपत्र पनि बरामद गरिएको छ ।
उनीहरूसँग व्यक्तिगत कागजपत्र यतिका धेरै मात्रामा हुनुलाई प्रहरीले शंकाको घेरामा राखेको छ । परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने, ‘सम्बन्धित व्यक्तिको कागजपत्र उनीहरूले कहाँबाट पाए । साथै, उनीहरूसँग यतिका धेरै कागजपत्र कसरी आयो । यो शंकास्पद छ, यस विषयमा हामीले अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीका अनुसार पक्राउ परेकाहरूले शेयर कारोबार गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ । प्रवक्ता बोगटीले भने, ‘उनीहरूको पृष्ठभूमि सामान्य नै छ । तर, यतिका कागजपत्र कसरी जुटाए, त्यो अनुसन्धानको विषय हो ।’
यस घटनामा बैंकका कर्मचारीहरूको पनि ठूलो लापर्बाही भएको बोगटी बताउँछन् । उनले भने, ‘सम्बद्ध व्यक्ति र सक्कली कागजपत्र नहुँदा पनि प्रमाणीकरण नगरी चेकबुक दिनु बैंकको ठूलो लापरबाही हो । यद्यपि, यस घटनामा बैंकका कर्मचारीको संलग्नता भए/नभएको खुलेको छैन । तर, हामी सम्बद्ध बैंक र कर्मचारीमाथि अनुसन्धान गर्ने तयारीमा छौं ।’
तर, जनता बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पशुराम कुँवर भने यस विषयमा बोल्न चाहेनन् । उनले भने, ‘अभियुक्तहरू पक्राउ परिसकेका छन् । करीब शतप्रतिशत रकम पनि बरामद भइसकेको छ । अहिले यस विषयमा प्रहरीले नै थप अनुसन्धान गरिरहेको छ, यस अवस्थामा हामी केही बोल्न मिल्दैन ।’
गत भदौ १४ गते चिनियाँ ह्याकरले नेपाली एटीएमको स्वीच ह्याक गरेर करोडौं रकम झिकेका थिए । गत असोज ७ गते पनि एक नेपाली समूहले कृषि विकास बैंकको लहान शाखाका कर्मचारीको यूजर नेम र पासवर्ड ह्याक गरेर करोडौं रकम झिकेको थिए । ती घटना नसेलाउदै पुनः यस्तो घटना भएपछि नेपाली बैंकिङ क्षेत्रको सुरक्षा प्रणालीमाथि प्रश्न उठेको छ ।
पूर्व बैंकर अनलराज भट्टराईले पनि बैंकिङ क्षेत्रमा सञ्चालन जोखिम बढ्दै गएको बताए । उनले भने, ‘पछिल्लो २ वर्षमा २ हजारभन्दा बढी शाखा विस्तार भएका छन् । त्यसमा २० हजारभन्दा बढी नयाँ कर्मचारी थपिएका छन् । तर, उनीहरूलाई बैंकिङ प्रणालीबारे जानकारी नगराउँदा जोखिम बढ्दै गएको छ ।’ बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन बैंकहरू सक्रिय हुनुपर्ने उनको सुझाव छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले पनि बैंकहरू सञ्चालनमा हुने जोेखिम न्यूनीकरण गर्न गम्भीर हुनुपर्ने बताए । ‘सम्बद्ध व्यक्तिको सक्कली डकुमेन्ट अनधिकृत रूपमा उनीहरूका हातमा कसरी पुग्यो, यस विषयमा अनुसन्धान गर्न आवश्यक छ,’ उनले भने, ‘राष्ट्र बैंकको छुट्टै टोली पनि सम्बद्ध बैंकहरूमा अनुसन्धानका लागि गइरहेको छ, शायद केही दिनमा हामी पनि निष्कर्षमा पुग्छौं ।’ आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार