June 27th, 2016

ठूला परियोजनामा लगानी भित्र्याउने प्रतिवद्धतासहित लगानीबोर्डका नवनियुक्त सीईओले सम्हाले कार्यभार

mahaprasadलगानी बोर्डका नवनियुक्त सीईओ महाप्रसाद अधिकारीले आइतबारदेखि पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेपश्चात् कर्मचारीहरुलाई सम्बोधन गर्दै सीईओ अधिकारीले देशमा ठूला परियोजनामा लगानी प्रवद्र्धन र सहजीकरण गर्ने लगानी बोर्डको प्रमुख उद्देश्यअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । लगानी बोर्ड स्थापना भएपश्चात् हालसम्मको अवधिमा लगानी बोर्डको कार्यालयको संस्थागत संरचना तथा परियोजना विकासका लागि उल्लेख्य आधार तय भएको उल्लेख गर्दै उनले आगामी दिनमा ठूला पूर्वाधार परियोजना विकासको उद्देश्य प्राप्तिको दिशामा समय तालिकाका साथ अगाडि बढ्नुपर्ने बताए । यसका लागि आफूलाई कार्यालयका कर्मचारी लगायत सबै क्षेत्रको सहयोग प्राप्त हुने कुरामा उनले विश्वास व्यक्त गरे । 

नेपाल सरकार मन्त्रीपरिषद्को गत विहीबारको बैठकले अधिकारीलाई ४ वर्षका लागि लगानी बोर्डको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । अधिकारी केही महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश पाएका व्यक्ति हुन् । उनी वृह अर्थशास्त्रका ज्ञाता समेत मानिन्छन् । लगानी बोर्डका निवर्तमान सीईओ राधेस पन्तलाई गत शुक्रबार बिदाई गरियो ।