उत्पादनमा कर्जा सुस्त, आर्थिक वृद्धिमा असर

कृषि, निर्माण, उत्पादनमूलक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी उच्चदरमा घटेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको ३ महिनाको मुलुकको अवस्थासम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।  

समग्र क्षेत्रमै कर्जा लगानीको वृद्धिदर सुस्त देखिए पनि कृषि, खानी, उत्पादन, निर्माणलगायतका क्षेत्रमा यस्तो लगानीको वृद्धिदर उच्चदरमा सुस्तिएको हो । गत वर्ष कृषिमा ४८ प्रतिशत, खानीमा ६२ प्रतिशत, उत्पादनमा २९ प्रतिशत, धातु उत्पादन, मेसिनरी र इलेक्ट्रिकल टुल्सलगायतका क्षेत्रमा २६ प्रतिशतले कर्जा लगानी वृद्धि भएको थियो । चालू आवमा भने यी क्षेत्रमा क्रमशः २५ प्रतिशत, १९ प्रतिशत, १६ प्रतिशत, १७ प्रतिशत, ९ प्रतिशतसम्म घटेको छ । 

बैंकहरूको कर्जा लगानीमा भइरहेको सुस्तीले अर्थतन्त्रको वृद्धिदरसमेत खुम्चिने धारणा सार्वजनिक हुन थालेका छन् । तर, पूर्वअर्थसचिव रामेश्वर खनाल भने अहिलेको कर्जा लगानी वृद्धिदर सन्तोषजनक नै रहेको बताउँछन् । ‘अहिले पनि कर्जा लगानीमा १६ प्रतिशतको वृद्धि देखिएको छ,’ खनाल भन्छन्, ‘हाम्रो मुलुकमा कुनै वर्ष गरिने लगानी सोही वर्षमै उच्चत्तम उपयोग हुने गरेको छैन, त्यसैले कुनै वर्ष घटेको लगानीको त्यही वर्ष प्रभाव देखिँदैन ।’

बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जाको वृद्धिदर सुस्तिएको छ । गत आवको तीन महिनामा २४ प्रतिशतले कर्जा वृद्धि भएकोमा चालू आवको सोही अवधिमा १६.८५ प्रतिशतमा सीमित भएको हो । तीन महिनामा बैंकहरूले कुल ३० खर्ब ३५ अर्ब कर्जा लगानी गरेका छन् । निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा ४.३ प्रतिशतले वृद्धि भएको छ । गत आवमा यस्तो वृद्धि ७.२ प्रतिशत थियो । 

पछिल्लो समय बैंकहरूले निर्माण क्षेत्र र जलविद्युत् क्षेत्रलाई भने प्राथमिकतामा राख्न छाडेका छन् । सिमेन्ट र रड उद्योगको संख्यामा वृद्धि भइरहेको र निजी क्षेत्रमा निर्माणका गतिविधि सुस्तिएका कारण पनि कर्जा लगानी घट्न थालेको छ । त्यस्तै, जलविद्युत् क्षेत्र छाडेर बैंकहरू पर्यटनमा लगानी वृद्धि गरिरहेका छन् । 

‘सिमेन्ट र रड उद्योगमा बैंकहरूले कर्जा प्रवाह गर्दा पहिलेभन्दा छनोट बढाएका छन्,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल भन्छन्, ‘सोबाहेकका पनि क्षेत्रहरूमा लगानी रहेकाहरू बढी प्राथमिकतामा पर्न थालेका छन् ।’ बैंक तथा वित्तीय संस्थाहरूले जलविद्युत् र पर्यटनमा गरी कुल कर्जा लगानीको १५ प्रतिशत लगानी गर्नुपर्छ । जलविद्युत् क्षेत्रमा जोखिम बढ्न थालेको भन्दै बैंकहरूले पर्यटनलाई बढी प्राथमिकता दिन थालेका हुन् । होटेल र पर्यटनमा बैंकहरूको लगानी २८ प्रतिशतले बढेर १ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । 

नियन्त्रणबाहिर मूल्यवृद्धि 

चालू आवको मौद्रिक नीतिले यस वर्ष ६ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि राख्ने लक्ष्य लिएको छ । तर, वर्षको सुरुवातदेखि नै यसमा राष्ट्र बैंकले सफलता पाउन सकेको छैन । असोजमा उपभोक्ताले ६.२१ प्रतिशत मूल्य वृद्धि खेपेका भए पनि समग्रमा तीन महिनाकै मूल्य वृद्धि दर ६ दशमलव ४४ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थमा मूल्य वृद्धि उच्च छ । यसमा ७.४ प्रतिशतको वृद्धि छ । काठमाडौं उपत्यकामा सबैभन्दा धेरै (८.१४ प्रतिशत) मूल्य वृद्धि छ । 

रेमिट्यान्स घट्यो, शोधनान्तर बचत बढ्यो 
तीन महिनामा मुलुक भित्रिने रेमिट्यान्सको दरमा ४.९ प्रतिशतले कटौती भएको छ । यो अवधिमा २ खर्ब ३० अर्ब रेमिट्यान्स भित्रिएको हो । सेवा क्षेत्र अझै घटामै रहे पनि शोधनान्तर बचत भने बढेको छ । मुलुक असोजमा १४ अर्ब ४२ करोडले बचतमा छ । व्यापार घाटा संकुचन भएपछि, विदेशमा शिक्षा र भम्रणका लागि जाने रकम कटौती भएपछि पनि शोधनान्तर बचतमा वृद्धि भएको हो । कुल निर्यात १४.४ प्रतिशतले बढेर २७ अर्ब रुपैयाँ पुगेको छ भने कुल आयात १० प्रतिशतले घटेर ३ खर्ब ३४ अर्बमा सीमित भएको छ । आयात र निर्यातको खाडल अझै उच्च छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.