June 27th, 2016

शेयरमा लगानी गर्दै हुनुहुन्छ ? नाफा कमाउन अपनाउनुस् गोप्य ८ सुत्र

stockआफूले गरेको लगानी सुरक्षित होओस् भन्ने चाहना सबैलाई हुन्छ । यसका लागि तपाईँ आफैँले ध्यान पुर्याउनुपर्ने हुन्छ । अरुको लहलहैमा लागेको शेयरसम्बन्धि जानकारी नै नभई लगानी गर्नु उचित हुँदैन । शेयर खरीद गर्दा लगानीकर्ताले विभिन्न विषयमा ध्यान दिनुपर्छ । लगानीसम्बन्धी आफैले अध्ययन गर्नुपर्छ । यसका लागि आफूले लगानी गर्न चाहेको कम्पनीको वित्तीय विवरण अध्ययन गर्नुपर्छ । प्रत्येक कम्पनीले विभिन्न पत्रपत्रिका वा आफ्नै वेबसाइटमा वार्षिक तथा त्रैमासिक वित्तीय विवरण राखेका हुन्छन् । वित्तीय विवरणमा मुख्य गरी खुद नाफा, प्रतिशेयर आम्दानी, खुद सम्पत्ति, जगेडा कोष, मूल्य आम्दानी अनुपात, नाफाको स्रोत, जोखीम व्यवस्था जस्ता कुराहरुको विश्लेषण गरेर मात्रै लगानी गर्नेबारे निर्णय लिनु राम्रो हुन्छ । यस्ता थुप्रै कुराहरु छन्, जसबारे शेयरमा लगानी गर्न चाहनेले जानिराख्नु जरुरी हुन्छ ।

खुद मुनाफा
कम्पनीले आफ्नो खर्च तथा सरकारलाई बुझाउने करपछि बचेको रकम नै खुद मुनाफा हो । खुद मुनाफाबाट नै कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्छ । त्यसैले, कम्पनीको खुद मुनाफाले कम्पनीको प्रस्तुतिलाई देखाउँछ । कम्पनीले जति धेरै नाफा आर्जन गर्न सक्छ, त्यति नै लाभांश पनि वितरण गर्छ । त्यसैले, कम्पनीको खुद मुनाफाको आकार हेरेर लगानी गर्नुपर्छ ।

प्रतिशेयर आम्दानी
प्रतिशेयर आम्दानी शेयरबाट प्राप्त गर्न सकिने आम्दानीको अवस्था हो । त्यसैले, प्रतिशेयर आम्दानीको अनुपातलाई पनि हेर्नुपर्ने हुन्छ । कम्पनीको पूँजी तथा मुनाफाको अनुपातको अवस्थाले यसको अनुमान गर्न सकिन्छ । धेरै चुक्ता पूँजी भएर धेरै मुनाफा आर्जन गरेका कम्पनीभन्दा थोरै चुक्ता पूँजी भएर धेरै मुनाफा आर्जन गरेका कम्पनी लगानीका लागि उपयुक्त हुन्छन् । कम्पनीको कुल शेयर कित्ताले खुद मुनाफालाई भाग गरेर प्रतिशेयर आम्दानी निकाल्न सकिन्छ ।

खुद सम्पत्ति
खुद सम्पत्तिले पनि कम्पनीको अवस्थाबारे थाहा पाउन सकिन्छ । यसको आधारमा कम्पनीले कतिसम्म लाभांश दिन सक्छ भन्ने थाहा हुन्छ । कम्पनीको चुक्ता पूँजी तथा कम्पनीले हरेक वर्षको नाफाबाट बचत गरेको सञ्चित रकमको जोडलाई कम्पनीको शेयर कित्ताले भाग गरेपछि प्रतिशेयर खुद सम्पत्ति वा शेयरको किताबी मूल्य आउँछ । यदि सो वर्ष प्रतिशेयर आम्दानी कम भए तापनि खुद सम्पत्ति उच्च छ भने अघिल्लो वर्षको नाफाबाट लाभांश वितरण गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

जगेडा कोष
जगेडा कोष कम्पनी आन्तरिक रूपमा कति सक्षम छ भनेर थाहा पाउने एउटा सूचक हो । कम्पनीको जगेडा कोष जति धेरै भयो, कम्पनी आन्तरिक रूपमा त्यति नै दरिलो हुन्छ । कम्पनीमा आइपर्ने समस्यालाई समाधान गर्न सक्षम हुन्छ । त्यसैगरी जगेडा कोषभित्र विभिन्न शीर्षक हुन्छन् । त्यसमध्ये रिटेण्ड अर्निङ (सञ्चित नाफा) शीर्षकमा राखिएको रकम अगामी वर्ष शेयरधनीलाई लाभांशका रूपमा वितरण हुन पनि सक्छ ।

मूल्य–आम्दानी अनुपात
आफूले गरेको लगानी आगामी कति समयमा उठ्न सक्छ भन्ने विषयमा लगानीकर्ता सचेत हुनुपर्छ । यो महत्त्वपूर्ण विषय पनि हो । यसका लागि कम्पनीको मूल्य–आम्दानी अनुपात हेनुपर्छ । कम्पनीको शेयर मूल्यलाई एक आर्थिक वर्षको प्रतिशेयर आम्दानीले भाग गर्दा आउने अङ्क नै मूल्य–आम्दानी अनुपात हो । यस्तो अनुपात १० भन्दा न्यून भएमा कम्पनीको शेयर खरीद डुब्ने सम्भावना कम हुन्छ भने २० भन्दा माथि भएकामा डुब्ने सम्भावना धेरै हुन्छ ।

कम्पनीको व्यवस्थापन
कुनै पनि कम्पनीको सफलता कम्पनीको व्यवस्थापकमा निर्भर रहन्छ । लगानी गर्नुपर्व कम्पनीको व्यवस्थापन समूहमा सहभागी व्यक्तिको बारेमा जानकारी राख्नुपर्छ । आर्थिक रूपमा राम्रो हुँदाहुँदैको अवस्थामा पनि नराम्रो व्यवस्थापनका कारण कम्पनी डुब्न पुगेको उदाहरण थुप्रै छन् । त्यसैले, व्यवस्थापनभित्र बैङ्किङ अनुभव भएका व्यक्तिको उपस्थिति भएरनभएको हेर्नुपर्छ । त्यसैगरी प्रवद्र्धकहरू कस्ता छन्, उनीहरूको शैक्षिक योग्यता कस्तो छ, उनीहरूको अन्य व्यवसाय के छ, वित्तीय अवस्था कस्तो छ भन्नेजस्ता विषयमा पनि जानकारी राख्नुपर्छ ।

वस्तु तथा  सेवा
लगानी गर्न लागेको कम्पनीले उत्पादन गर्ने वस्तुका विषयमा पनि थाहा पाउनुपर्छ । कस्तो खालको वस्तु वा सेवा उत्पादन गर्छ, बजारमा माग कतिको छ, भविष्यको बजार कस्तो छ भन्नेबारे पनि ध्यान दिनुपर्छ ।

सूचना पाउने माध्यम
कम्पनीसम्बन्धी सूचना सजिलै पाउन सकिँदैन । यसका लागि लगानीकर्ताले केही मेहनत गर्नुपर्छ । सूचना पाउन सकिने विभिन्न माध्यम हुन्छन् । सूचनाको पहिलो माध्यम आफन्त, छरछिमेक र साथीभाइ हुन सक्छन्, जसले पहिलादेखि नै यसमा काम गरिरहेका छन् । दोस्रोमा कम्पनीहरूले प्रकाशन गरेका वित्तीय विवरण, आह्वानपत्र, प्रबन्धपत्र आदि हुन् । तेस्रोमो कम्पनीहरूलाई अनुगमन गर्ने निकायहरू जस्तै– धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैङ्क, कम्पनी रजिष्ट्रार कार्यालय र धितोपत्र विनिमय गर्ने बजारमा पनि कम्पनीबारे जानकारी पाउन सकिन्छ । साथै, बजारको अनुसन्धान गरी बसेका व्यावसायिक संस्था तथा विभिन्न पत्रपत्रिका, इण्टरनेटबाट पनि आवश्यक जानकारी पाउन सकिन्छ ।