सेन्चुरी कमर्सियल बैंकले रुपन्देहीको भैरहवामा मुख्य कार्यलय भएको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई एक्वायर अर्थात खरिद गर्ने भएको छ । आइतबार बिहान राजधानीको र्याडिसन होटलमा भएको एक्वायरसम्बन्धी सैद्दान्तिक सहमतिपत्रमा सेञ्चुरी बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र इनोभेटिभका विकास बैंकका अध्यक्ष देवेन्द्रबहादुर राउतले हस्ताक्षर गरे ।
सहमतिअनुसार इनोभेटिभ बैंकमा एक सय कित्ता शेयर हुने शेयरधनीले सेञ्चुरी बैंकको ६७ कित्ता शेयर बराबर पाउनेछन् । एक्वायरपछि ८५ करोड रूपैयाँको हकप्रद शेयर जारी गरी चुक्ता पुँजी साढे ५ अर्ब रूपैयाँ बनाउने बैंकका अध्यक्ष श्रेष्ठले बताए । हाल सेञ्चुरीको चुक्ता पुँजी २ अर्ब ८४ करोड र इनोभेटिभको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ । श्रेष्ठका अनुसार आगामी पुससम्ममा एक्वायर पूर्णरूपमा सम्पन्न भइ एकीकृत कारोबार थालिने छ ।
इन्नोभेटिभ डेभलपमेन्ट बैंकको चुक्ता पुँजी ३१ करोड ७५ लाख ६ सय रूपैयाँ रहेको छ । इन्नोभेटिभको ३१ लाख ७५ हजार ६ कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । इन्नोभेटिभले आ.व. २०७२÷७३ को चैत्र मसान्त सम्ममा २ अर्ब १९ करोड निक्षेप संकलन गरी १ अर्ब ७५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ५ करोड २० करोड सञ्चालन नाफा कमाएको छ । बैंकका ९ शाखा कार्यलयहरु सञ्चालनमा छन् । कम्पनीको प्रतिकित्ता चार सय १८ रूपैयाँमा स्टक एक्सचेन्जमा अन्तिम कारोबार भएको थियो ।
सेन्चुरी कमर्सियल बैंक अहिले संचालनमा रहेकामध्ये पछि स्थापना भएको बैंक भएपनि यसको वित्तीय अवस्था भने मजबुद देखिन्छ । खराब कर्जा अनुपात एक प्रतिशतभन्दा कम रहेको यस बैंकले लामो समयदेखि विभिन्न बैंक एक्वायर गर्ने वा एभरेस्ट, प्राइम कमर्सियल, देवः विकासलगायतका बैंकसँग मर्जमा जाने हल्ला चलेको थियो ।
केही दिनअघिमात्र मर्ज हल्लामा रहेको अर्को देवः विकास बैंकले ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेपछि सेन्चुरीले पनि इन्नोभेटिभलाई एक्वायर गर्ने भएको हो ।सेन्चुरी कमर्सियल बैंकको चुक्ता पुँजी दुई अर्ब ३१ करोड रूपैयाँ छ । नेप्सेको पछिल्लो क्लोजिङ प्राइस अनुसार बैंकको प्रतिकित्ता चार सय २३ रूपैयाँमा कारोबार भएको थियो । सेञ्चुरीले आर्थिक वर्ष २०७२÷७३ को चैत्र मसान्त सम्ममा २६ अर्ब १ करोड रूपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ३४ करोड ५० लाख रूपैयाँ सञ्चालन नाफा कमाएको छ । बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकलाई बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।