November 9th, 2019

मंसिर १ र २ गते भृकुटीमण्डपमा बैंकिङ एक्स्पो (बैंकिङ, बीमा र पुँजीबजार प्रदर्शनी) हुँदै

बैंकिङ खबर । आगामी मंसिर १ र २ गते काठमाडौँको भृकुटीमण्डपमा बैंकिङ एक्स्पो (बैंकिङ, बीमा र पुँजीबजार प्रदर्शनी) संचालन हुने भएको छ । नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा बीमा समितिसँगको सहकार्यमा मिडिया इन्टरनेसनलले कार्यक्रम आयोजना गर्न लागेको हो । एउटै छानामुनि बैंकिङ, बीमा, शेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीको सूचना प्रदर्शन एवम् उद्यमशीलता र बैंकिङ लगानीका सवालमा सूचना प्रवाह गर्न बैंकिङ एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिइएको छ । कार्यक्रमलाई नेपाल धितोपत्र बोर्ड, युवा स्वरोजगार कोष, ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान), नेपाल बैंकर्स संघ, डेभलपमेज्न्ट बैंकर्स एशोसियसन, वित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैंकर्स संघले पनि साथ दिएका छन् । वित्तीय चेतनाको विस्तार, आर्थिक समृद्धि, उद्यमशीलताको विकास, बीमा शिक्षा अभिबृद्धिको लक्षमा कार्यक्रम अघि बढेको छ ।

एक्स्पोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्ड, युवा स्वरोवगार कोषले पनि सूचनामूलक स्टलहरु राख्नेछन् । त्यसबाहेक बाणिज्य बैंकहरु, विकास बैंकहरु, वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, माइक्रोफाइनान्स कम्पनीहरु सेयरबजार सम्बन्धि क्यापीटल तथा अन्य कम्पनीहरु, रेमिट्यान्स एवं डिजिटल वालेट कम्पनीहरु लगायतका सूचनामूलक स्टलहरु संचालन हुनेछन् । काठमाडौँमा तेस्रो पटक बैंकिङ एक्स्पो हुन लागेको हो । कार्यक्रमका बारेमा जानकारी दिँदै कार्यक्रम संयोजक एवम् मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले वित्तीय तथा आर्थिक जागरण ल्याउने, बैंकिङ कर्जाका बारे तथा बचत र व्याजका बारे आम नागरिकलाई बुझाउने एवं देशमा उद्यमशीलताको विकास गर्न एक्स्पोको आयोजना गर्न लागिएको बताए । उनले सेयर बजार, बीमा तथा लघुउद्यमशीलता एवं फाइनान्सीयल टेक्नोलोजी बारे एक्स्पोमा अन्तरक्रियात्मक कार्यक्रम संचालन गरिने जानकारी गराए । बैंकिङ पहुँच बढाउने,  हुण्डीलाई निरुत्साहन गरी रेमिट्यान्सलाई प्रोत्साहन गर्ने र बैंकिङ कर्जाबाट उद्यमशीलता बढाउने अभियानलाई सफल बनाउन एक्स्पोले सहयोग गर्ने छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले आर्थिक वृद्धिसँगै जोखिम पनि जोडिने भएकाले बीमाका आवश्यकता बढ्दै जाने भएकाले बीमा बारे सबैलाई जानकारी गराउन एक्स्पो सफल हुने उल्लेख गरे । नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बैंकका साथै बैंकिङसँग सम्बन्धित रेमिट्यान्स, प्रविधि, कर्जा लगायतका विषयमा जनचेतना अभिवृद्धि गरी वास्तविक रुपमा बैंकिङ सेवाको पहुँच विस्तार गर्न बैंकिङ एक्स्पोले सहयोग गर्ने विश्वास व्यक्त गरे । टानका अध्यक्ष खुम बहादुर सुवेदीले थोरै लगानीमा धेरै उत्पादन हुने एक मात्र व्यवसाय पर्यटन भएको भन्दै यस व्यवसायमा बैंकिङ लगानी बढाउन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए । माइक्रोफाइनान्स बैंकर्स एसोसिएसनका अध्यक्ष वसन्त लम्सालले वित्तीय जनचेतनाका लागि आयोजित बैंकिङ एक्स्पोमा आफूले सँधै सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तर गरिरहने प्रतिवद्धता व्यक्त गरे । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद गौतमले उद्यमशीलता गर्न चाहानेका लागि एक्स्पो फलदायी हुने बताए ।

एक्स्पोलाई आम नागरिक र वित्तीय कम्पनीहरुबीच एकैठाउँमा भेला हुने अबसरका रुपमा लिइन्छ । एउटै छानामुनि बैंकिङ, बीमा, सेयर बजार, रेमिट्यान्स, र फाइनान्सीयल टेक्नोलोजीको सूचना प्रवाह हुने हुँदा यस कार्यक्रम वित्तीय तथा आर्थिक चेतना अभिबृद्धिमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । मूलत म्यानेजमेन्ट तहका विद्यार्थीलाई यस कार्यक्रमले उद्यमशिलतातर्फ लैजान सहयोग गर्नेछ । कार्यक्रममा विभिन्न विषयमा प्रत्यक्ष अन्तरक्रिया संचालन हुनेछन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर विभिन्न बैंकरहरु, यूवा स्वरोजगार कोषका अधिकारी तथा उद्यमीहरु बक्ताका रुपमा रहनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]