पछिल्लो समय बजारमा सुनको माग घटेको छ । नेपाल बैंकर एसोसिएसनका अनुसार अहिले २० वटा वाणिज्य बैंकहरुमा उक्त परिमाणमा सुन थुप्रिएको हो । बजारमा हाल सुनको माग दैनिक १० किलोको हाराहारीमा रहेको छ । सुनको माग नभएपछि बैंकहरुले केही सातायता सुन नै ल्याएका छैनन् । महासंघका अनुसार, हाल बैंकहरुले दैनिक १५ केजी दरमा सुन झिकाउने गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हालको विक्रि परिमाण इतिहासकै सबैभन्दा कमजोर हो । यसरी सुनको माग घटेपछि वाणिज्य बैंकहरुमा सुन थुप्रिन थालेको छ । वाणिज्य बैंकहरुमा अहिले ४ सय २५ किलोग्राम सुन थन्किएको अवस्था छ ।
सुन व्यापारको अफ सिजन
वर्षा सुरु भइसकेको र अर्थतन्त्रमा अझै पनि भूकम्प र नाकाबन्दीको असर कायम नै रहेकाले बजारमा सुनको माग घटेको सरोकारवालाहरु बताउँछन् । त्यसो त असार साउन सुन व्यापारका लागि अफ सिजन हो । विगतमा त यहि समयमा पनि राम्रै परिमाणमा सुन विक्रि हुने गरेको सुन व्यवसायीहरु बताउँछन् । पुरानो परम्पराअनुसार यो सिजन भनेको माना रोपेर मुरी फलाउने सिजन हो । यो सिजनमा आफूसँग भएको गरगहना बेचेर दैनिकी चलाउने गरिन्छ । बजारमा अहिले नयाँ सुन किन्नभन्दा पनि बेच्न आउने बढी छन् । त्यसैले पनि सुनको बजार खस्किएको व्यवसायीहरुको बुझाइ छ ।
अवैधानिक सुन आयातको प्रभाव
बजारमा वैधानिक माध्यमबाट भन्दा पनि अवैधानिक माध्यमबाट बढी परिमाणमा सुन भित्रिएकाले बैंकहरुको सुन विक्रि हुन छोडेको अर्काथरिको विश्लेषण छ । वैधानिक माध्यमबाट आएको सुनमा कर, विभिन्न किसिमका भन्सार लाग्ने हुँदा केही महँगो हुन्छ । तर, अवैधानिक माध्यमबाट सुन ल्याउँदा त्यो झन्झट हुँदैन । यसकारण अवैध रुपबाट ल्याएको सुन वैधानिक तवरले ल्याएकोभन्दा सस्तो पर्न आउँछ । त्यसैले पनि व्यापारीहरुले बैंकबाट सुन नलिएको तर्क सर्वसाधारणको छ ।


